फिचर

परिक्रमा र धार्मिक पर्यटनको संम्भावना

अनलाइन नेपालगंज

शनिबार, १६ चैत्र २०७५

-रोशन जनकपुरी

ऐतिहासिक स्रोतहरूका अनुसार आधुनिक जनकपुरको शुरूवात सत्रहौँ शताब्दीमा भएको हो । रामानन्दी रसिक सम्प्रदायको वैरागी साधु सुरकिशोर दासले ‘जानकी जन्मभूमि’ को खोजी गदैँ जनकपुरमा आएर हालको जानकी मन्दिर भएको ठाउँमा बस्न थालेपछि जनकपुरको आधुनिक इतिहास शूरू भएको हो ।

जनकपुरको मिथकीय परिचय ईसापूर्व सातौँ शताब्दी (अनुमानित)मा रचिएको शतपथ ब्राह्मण र बाल्मिकीय रामायणमा वर्णित जनक र सीतासंँग जोडिएको छ । तर ऐतिहासिक स्रोतहरूमा उल्लेख भए अनुसार जनकपुरको इतिहासलाई न्यूनतम् एक हजार वर्षसम्म पु¥याउन सकिन्छ ।

साधु सूरकिशोर दास जनकपुरमा आएको बेला यहाँ घनघोर जङ्गल रहेको र वरिपरि केही प्रारम्भिक गाउँहरू रहेको बुझिन्छ । प्रारम्भिक स्रोतहरूले हाल जानकी मन्दिर रहेको स्थानलाई राजा जनककी छोरी सीता जन्मेको स्थलको रूपमा एउटा पवित्र चौर (क्षेत्र)को रूपमा प्रसिद्ध रहेको र धर्मभीडू हिन्दूभक्तहरू, विशेषतः साधूहरू यस दुर्गमस्थलमा रहेको तीर्थ गर्न आउने गरेको भनेका छन् ।

अठारौँ शताब्दीको अन्तसम्म जनकपुरमा केही रामानन्दी वैरागी साधुहरूले कुटी बनाएर बस्न थाले पनि जनकपुरमा यो दुर्गमता रहेकै देखिन्छ । उन्नाइसौँ शताब्दीको आरम्भ सन् १८०५मा लेखिएको एउटा पुस्तक ‘श्री महाराजाचरित्र’ मा जनकपुरलाई ‘जानकीको जन्म भएको पवित्र तीर्थस्थल क्षेत्र जनकपुरधाम’ भनिएको छ ।

यस पुस्तकमा जनकपुरमा रहेका विविध पोखरीहरू, वरिपरिका गाउँंहरू र जनकपुरको दसमाइल वरिपरिका पुराना शिवमन्दिरहरूको चर्चा गरिएको छ ।

जनकपुरमा वैरागी साधुहरू आएर बस्न थालेको चर्चा फैलिएसँंगै मकवानपुरे सेन राजाहरूले साधुहरूलाई दिएको दान तथा छिमेकी भारतका तत्कालीन राज्यहरूका राजाहरूले गरेको दान र सहयोगमा निर्मित मठ, मन्दिरहरूको निर्माण र देश–विदेशका तीर्थयात्री, धार्मिक उत्सव, यस अवसरमा लाग्ने विविध मेलाहरूले जनकपुरधामको विकासमा अहम भूमिका निर्वाह गरेका छन् ।

सीताको जन्मभूमि (जानकीजन्मभूमि)को रूपमा जनकपुरको प्रसिद्धि फैलिनुसंगै जनकपुरमा रामनवमी, विवाहपञ्चमी, जानकीनवमी र पन्द्रदिने परिक्रमा जस्ता विविध धार्मिक उत्सवहरू विकसित हुँदैगएको देखिन्छ ।

भारत, अयोध्या, बारास्थानका साधु रघुनाथप्रसादले लेखेको ‘श्री महाराजा चरित्र’मा तत्कालीन प्रारम्भिक जनकपुर र यस वरिपरिको स्थानबारे प्रशस्त चर्चा गरिएको छ । यस्मा हालको जानकीमन्दिर भएको ठाउँमा एउटा मठ रहेको र त्यसको अगाडी विशाल मैदान रहेको जहाँ अयोध्याका राजा रामले शिवधनुष भङ्ग गरेको भनिएको छ ।

यस पुस्तकमा जनकपुर वरिपरि कयौँ पवित्र तीर्थस्थलहरू रहेकों गाउँहरूको चर्चा गरिएको छ स जस्तै, जनकपुरबाट करिब बत्तीसमाइल दक्षिणपश्चिममा रहेको सीतामढी (भारतं) जहाँ राजा जनकले हलो जोत्दा नवजात सीता फेला परेकी थिइन्, त्यसतै जनकपुरभन्दा दसमाइल दक्षिणमा रहेको र ऋषि विश्वामित्रको आश्रम भनिएको विसौल, रामायणमा वर्णित विवाहको बेला गिरिजापूजन गर्न गएको बेला सीताको रामसंग पहिलोपटक देखादेख भएको स्थल फुलहर(यसलाई गिरिजास्थानपनि भनिन्छ), त्यस्तै रामले धनुभङ्ग गर्दा त्यसको एउटा हिस्सा उछिट्टिएर झरेको ठाउँ धनुषाधामको उल्लेखपनि यस पुस्तकमा पाइन्छ ।

यस अतिरिक्त जनकपुरको दसमाइल वरिपरिको वृत्तमा रहेका पुराना शिवमन्दिरले पनि जनकपुरको एतिहासिकतालाई बल पु¥याउँछ । यो यसकारण पनि महत्वपूर्ण छ कि वर्तमानमा जनकपुरको धार्मिक पर्यटनको दृष्टिले प्रमुख परिचय बनेको पन्द्रदिने परिक्रमाका स्थलहरू यिनै शिवमन्दिरको आधारमा नै तय गरिएका थिए ।

जनकपुरधाम भन्दा करिब दसमाइलको दूरीमा प्राचीन क्षीरेश्वरनाथ छन् । त्यसरी नै जनकपुरधाम् वरिपरिका पुराना शिवमन्दिरहरूमा कल्याणेश्वर महादेव र जलेश्वरनाथ महादेवका मन्दिरहरू छन् । विभिन्न पुराना स्रोतहरूमा उल्लेख भएअनुसार यी दुबै शिवमन्दिरहरू कम्तीमा चारसय पचासवर्ष पुरानो हुनसक्ने देखिन्छ ।

त्यस्तै जनकपुरभन्दा उत्तरपूर्वमा रहेको मिथिलेश्वर महादेवको मन्दिरपनि पुरानो हो, तर यो मन्दिर उन्नाइसौँ शताब्दीको अन्तसम्म अज्ञात नै थियो । जनकपुरधामको वरिपरि करिब दसमाइलको घेरामा दक्षिण, दक्षिणपश्चिम, उत्तर र उत्तरपश्चिममा रहेका यी प्राचीन शिवमन्दिरहरूले जनकपुर क्षेत्रमा शैवतन्त्रकालीन प्राचीनता (इतिहासको दृष्टिले न्यूनतम मध्यकाल)को प्रमाण त दिन्छन् नै, मिथिला र राजा जनकको कूलदेवको रूपमा पनि सान्दर्भिक छन् ।

रामायण र पौराणिक स्रोत अनुसार राजा जनकको विदेहवंशको इष्टदेव शिव थिए र यस मिथक अनुसार शिवलाई जनकपुरको अभिभावक देवता भन्न सकिन्छ । एक जना रामानन्दी साधु युगलप्रिया शरण द्वारा लिखित र सन् १९६१मा प्रकाशित ‘श्री रसिक प्रकाश भक्तमाला’ नामक पुस्तकमा उन्नाइसौँ शताब्दीको शुरूमा भारत सीतामढीका सीताप्रसाद र मुजफ्फरपुर जिला भारतको पिपरा मठ (हाल सीतमढी जिल्ला, भारत)का सुरदास नामक साधुलाई जनकपुरमा परिक्रमाको प्रारम्भिक भनिएको छ ।

शुरूमा ती दुईजना साधुहरूले जनकपुरको वरिपरि दसमाइलको जुन परिक्रमा वृत्त बनाएका थिए, त्यो कल्याणेश्वर महादेवको मन्दिरबाट शुरू भएर यसै ठाउँमा आएर अन्त हुन्थ्यो ।

पाँचदिनमा पूरा हुने यस परिक्रमा पथमा कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र मिथिलेश्वर पर्दथ्यो, जसमा यी साधुहरूले जनकपुरको अभिभावकदेव शिवलाई पवित्र जल र बेलपत्र चढाउँने गर्दथे ।

यी दुई साधुले शुरू गरेको जनकपुरको परिक्रमा नै पछि, हाल प्रचलनमा रहेको पन्द्रदिने मध्यपरिक्रमा र जनकपुरधाम् नगरको पाँचदिने अन्तर्गृह परिक्रमाको रूपमा विकसित भयो, जस्मा हाल हजारौँ मानिसहरू सहभागी हुने गर्दछन् ।

जनकपुरको बारेमा एकजना अनुसन्धाता रिचार्ड बर्घर्टले तीनवर्ष पूर्व प्रकाशित आफ्नो अनुसन्धानकृति ‘द हिस्टरी अफ जनकपुरधाम’ मा जनकपुरका पुराना साधूहरू र जनकपुरबारे पुराना स्रोतहरूको आधारमा परिक्रमा बारे रोचक तथ्य प्रस्तुत गरेका छन् ।

यस अनुसार सीताप्रसाद र सुरदासले शुरू गरेको जनकपुरको परिक्रमा केही वर्षभित्रै लोकप्रीय भयो र यसमा टाढा टाढाका साधुहरू र गृहस्थ भक्तजनहरू सामेल हुन थालेका थिए ।

जनकपुरमा त्यतिबेला सम्म रामानन्दी साधुहरूको कयौँ कुटी, र मठहरू निर्माण भैसकेको थियो र जनकपुर ‘बाउन्न कुटीको तीर्थस्थल’को रूपमा प्रसिद्ध थियो । वरपरका गाउँहरूबाट पूर्णिमा र अन्य पवित्र तीर्थहरू र धार्मिक उत्सवहरूमा जनकपुरमा आएर यहाँको पवित्र तलाउहरूमा स्नान गर्ने परम्परापनि शुरू हुन थालेको थियो ।

यसरी नै शुरूको पाँचदिने परिक्रमा फाल्गुन शूक्लपक्ष परेबाबाट शुरू भएर फाल्गुन पूर्णिमाको दिन समापन हुने पन्द्रदिने परिक्रमामा विकसित भइसकेको थियो । सन् १८१४मा यस परिक्रमाको नेतृत्व सीताकुण्डले गर्ने परम्परा शुरू भएको देखिन्छ ।

त्यतिबेला यस मन्दिरको महन्थ रामदास आचार्य थिए । महन्थ रामदासको मृत्युपछि उनका प्रथम शिष्य कुञ्जबिहारी दास महन्थ हुन सफल भए । तर केही समयपछि उनले आफ्ना श्रीमति र छोरालाई मन्दिरमा ल्याएर राखे ।

गुरू रामदासका अर्का शिष्य लाडलीशरणले यसको विरोध गरे । तर कुञ्जबिहारीले मानेनन् । वैरागीकुटीमा स्त्रीको प्रवेश हुनु वैरागी सम्प्रदायको मान्यताको विपरीत भएको भनेर असन्तुष्ट लाडलीशरण सीताकुण्ड त्यागेर जनकपुरधाम भन्दा करीब आठ किलोमीटर पूर्व जलाधि नदीको किनारमा कचुरीगाउँमा गइबसे ।

त्यस वर्षको परिक्रमाको समय आउँदा परिक्रमाको नेतृत्व कसले गर्ने विषयमा कुञ्जबिहारी र लाडलीशरणमा विवाद उत्पन्न भयो । मन्दिरको परम्परा भङ्ग गरेकोले तथा विवाह गरेर गृहस्थमा परिणत भइसकेकोले वैरागी साधुकोरूपमा परिक्रमाको नेतृत्व गर्ने अधिकार गुमेकोले कुञ्जबिहारी अयोग्य रहेको दावी लाडलीशरणले गरे ।

जबाफमा कुञ्जबिहारीले आफू गुरू रामदासको पहिलो शिष्य र द्विज (जनैधारी) रहेको र लाडलीशरण शूद्र जातिबाट भएकोले यस्तो पवित्र परम्पराको नेतृत्व गर्ने अधिकार उनलाई नभएको, यसको नेतृत्व गर्ने एकमात्र अधिकारी आफू रहेको दावी गरे । विवाद जनकपुरको बाउन्न कुटीको साधुसमाजसम्म पुग्यो ।

त्यतिबेला जनकपुरको बाउन्न कुटीको साधु समाजले यस विवादको कुनै फैसला ग¥यो, गरेन, यसबारे कुनै उल्लेख पाइँदैन । तर जब त्यस वर्ष फागुन महिनामा परिक्रमा शुरूआत गर्ने समय आयो, वैरागी साघुहरूको जुलूस लाडलीशरण बसेको कचुरीको मन्दिरको देउताको डोला र झण्डा पछाडी लामबद्ध भयो ।

यो पन्द्रदिने मिथिला परिक्रमामा शूद्र लाडलीशरणको नेतृत्व स्वीकार गर्नु थियो । यसपछि पन्द्रदिने परिक्रमाको नेतृत्व कचुरी स्थानको डोलाले गर्ने परम्परा स्थापित भयो र यो अद्यपि जारी छ ।

लाडलीशरण बसेको कचुरी स्थानको डोलालाई हाल मिथिलाबिहारीको डोला भनिन्छ र परिक्रमाको निम्ति जनकपुर र अन्य ठाउँको डोला हनुमाननगरमा जम्माभएर कल्याणेश्वरको निम्ति प्रस्थान गर्दा सबैभन्दा अघि अघि यो डोला नै हुन्छ ।

समयको प्रवाहमा विस्तृत पन्द्रदिने परिक्रमामा हाल जनकपुरको हनुमानगढीबाट कल्याणेश्वर पुग्छ र त्यहाँबाट औपचारिक शुरू भएर फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षीरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), अउढी, करूणा, बिसौल र फेरी कल्याणेश्वर हुँदै फागुन पूर्णीमाको दिन जनकपुर फर्कन्छ र नगरको पाँचकोसे अन्तर्गृह परिक्रमा गरि समाप्त हुन्छ ।

हजारौँ धर्मभीडू मानिसहरूको जत्था पन्द्र दिन सम्मको एउटा धार्मिक अभियानमा हिडिँरहेको यो पन्द्र दिने परिक्रमाले जनकपुरलाई धार्मिक पर्यटनस्थलको रूपमा प्रसिद्धि दिलाएको छ ।

(मधेश दर्पण फिचर सेवा)