मुख्य खबर

नेपाल सरकार र सीके राउतको नेतृत्वमा रहेको स्वतन्त्र मधेश गठबन्धन बीच राजनीतिक सहमति

अनलाइन नेपालगंज

शुक्रबार, २४ फाल्गुन २०७५

नेपाल सरकार र सीके राउतको नेतृत्वमा रहेको स्वतन्त्र मधेश गठबन्धनले एउटा राजनीतिक सहमति गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राउतको प्रशंसा गर्नुभएको छ ।

एघार बुँदे सहमतिमा औपचारिक रूपमा हस्ताक्षर भएपछि बोल्दै प्रधानमन्त्री ओलीले राउतसँग असाधारण निर्णय क्षमता भएको टिप्पणी गर्नुभयो ।

उहाँले त्यस्तो क्षमता पहिला तत्कालीन माओवादी पार्टीका नेता प्रचण्डसँग मात्र भएको देखेको बताउनुभयो । आज भएको सहमतिअनुसार पृथक्तावादी अभियान चलाउँदै आएको सो समूहले नेपालको अखण्डतालाई स्वीकार्ने र संविधानअनुसार लोकतान्त्रिक विधि पालना गर्ने भएको छ ।

सरकारले पनि सो गठबन्धनका नेता तथा कार्यकर्ताविरुद्ध लागेका मुद्दा फिर्ता गर्ने भएको छ । थुनामा भएका सो समूहका कार्यकर्ता र समर्थकलाई निस्शर्त रिहा गरिने पनि सहमतिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापाले नेपाल सरकारका तर्फबाट र राउतले आफ्नो गठबन्धनबाट सो राजनीतिक सहमतिमा हस्ताक्षर गर्नुभएको हो ।

२०७५ भदौ १५ मा प्रहरी हिरासतमा मृत्यु हुनु भएका गठबन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवको परिवारलाई उचित क्षतिपूर्तिका साथै परिवारका एकजनालाई रोजगारीको व्यवस्था गरिने पनि सहमति भएको छ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्ड तथा सभामुख कृष्णबहादुर महराको पनि उपस्थिति थियो । सहमतिमा हस्ताक्षरमा गरेपछि राउतले नेपालका जनताका लागि यो खुसीको कुरा भएको र यो ऐेतिसाहिक पल भएको टिप्पणी गर्नुभयो ।

जनमत सङ्ग्रह आफ्नो माग भएको एवम् सहमतिअनुसार आफूले त्यसका लागि राजनीतिक स्थान पाएको भन्दै उहाँँले यसबाट सबैको जित भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पहल गरेर आफ्नो अभियानलाई शान्तिपूर्ण रूपमा सुरक्षित अवतरण गराएको भन्दै राउतले उहाँलाई धन्यवाद दिनुभएको छ ।

राउतपछि बोल्नुभएका ओलीले नेपालमा भएका विभिन्न आन्दोलनहरू र जनताको अभिमतको चर्चा गर्दै देशका लागि शान्तिपूर्ण एवम् लोकतान्त्रिक विधि महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टीको नाम उल्लेख नगरीकनै कटाक्ष गर्नुभयो ।

नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको दल नेकपालाई ’लुटेरा’ को सङ्ज्ञा दिँदै ओलीले सो दललाई हिंसाको बाटो त्याग्न आग्रह गर्नुभयो । ’स्वतन्त्र मधेश गठबन्धन’ मार्फत् मधेशमा पृथक्तावादी गतिविधि सञ्चालन गर्दै आउनुभएका सीके राउत मूलधारमा आउने संम्भावना निकै पहिलादेखि देखिएको थियो ।

तर उहाँ कसरी र कहिले आउनुहुन्छ भन्ने स्पष्ट थिएन । सीके राउतको पूरा नाम चन्द्रकान्त राउत हो । उहाँ सप्तरीमा जन्मिनुभएको हो ।

उहाँले क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ । सन् २०११ मा अमेरिकाबाट स्वदेश फर्केर उहाँले स्वतन्त्र मधेशको अभियान चलाउनुभएको थियो ।

नेपाल फर्कनुअघि उहाँले अमेरिकामा कम्प्युटर वैज्ञानिकका रूपमा काम गर्नुभएको थियो । उहाँले आफ्नो आत्मकथा ’डिनायल टु डिफेन्स’ र मधेशसम्बन्धी अन्य दुईवटा पुस्तक पनि प्रकाशित गर्नुभएको छ । स्वतन्त्र मधेश गठबन्धनका उहाँ केन्द्रीय संयोजक हुनुहुन्छ ।

-साभार : बिबिसी नेपाली