अन्तराष्ट्रिय समाचार

सन् २०१९ को अर्बपति सूचिमा अमेरिकाकी काइली जेनर संसारको सबैभन्दा कान्छी अर्बपति 

अनलाइन नेपालगंज

बुधबार, २२ फाल्गुन २०७५

अमेरिकाकी काइली जेनर आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बन्नुभएको छ ।

फोब्र्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा पर्नुभएकी २१ वर्षीया जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोर्नुभएको हो ।

उहाँको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो । उहाँ चर्चित कार्ड्याशियन परिवारकी सदस्य हुनुहुन्छ ।

एक्काइस वर्षमै अर्बपतिको सूचीमा पर्दा उहाँले फेसबुकका संस्थापक मार्क जुकर्बर्गलाई पनि उछिन्नुभएको छ । कान्छा अर्बपतिका रूपमा सूचीकृत हुँदा जुकर्बर्ग २३ वर्षका हुनुहुन्थ्यो ।

सन् २०१९ को सूचीमा १ सय ३१ अर्ब अमेरिकी डलर सम्पत्ति सहित अमेजनका संस्थापक जेफ बेजोस शीर्ष स्थानमा रहनुभएको छ । उहाँको कुल सम्पत्ति गत वर्षको भन्दा १९ अर्ब अमेरिकी डलरले बढेको छ ।

तर फेसबुकका मार्क जुकर्बर्गको सम्पत्ति भने घटिरहेको छ । फोब्र्स सूचीका अनुसार गत वर्ष रहेको उहाँको सम्पत्ति ६२ दशमलव ३ अर्ब अमेरिकी डलर रहेकोमा यो वर्ष त्यो ८ दशमलव ७ अर्ब डलरले घटेको छ ।

फेसबुकले गोपनीयता सम्बन्धी प्रकरणहरूमा सङ्घर्ष गरिरहँदा एकचोटि जुकर्बर्गको शेयरको मूल्य एकतिहाइले घटेको थियो । उता अमेजनको शेयरको मूल्य बढ्दा त्यसका संस्थापक बेजोसको ब्याङ्क खाता बढाएको छ र दोस्रा धनी बिल गेट्ससँगको दूरी थोरै बढाएको छ ।

माइक्रोसफ्ट संस्थापक गेट्सको सम्पत्ति चाहिँ ९० अर्ब डलरबाट बढेर ९६ दशमलव ५ अर्ब डलर पुगेको छ । फाब्र्सको गणनामा परेका दुई हजार एक सय ५३ धनी व्यक्तिमध्ये २ सय ५२ जना महिलाहरू छन ।

आफ्नै पौरखमा सबैभन्दा धनी महिला भने चीनकी प्रभावशाली घरजग्जा व्यवसायी वू याजुन हुनुहुन्छ । उहाँको सम्पत्ति झन्डै ९ दशमलव ४ अर्ब डलर रहेको बताइन्छ ।

आफ्नै प्रयासमा अर्बपति हुने त्यस्ता महिलाको सङ्ख्या पहिलो पटक सबैभन्दा धेरै ७२ पुगेको छ जुन गतवर्ष ५६ थियो । सबैभन्दा धेरै अर्बपति अमेरिकाका ६ सय ७ जना छन् भने त्यसपछि चीनका ३ सय २४ जना छन ।

यता नेपालका विनोद चौधरी अर्बपतिहरूको सूचीमा १ हजार ३ सय ४९ औँ स्थानमा हुनुहुन्छ । फोब्र्स म्यागजिनले यस वर्ष पनि उहाँलाई मात्र नेपाली अर्बपतिका रूपमा सूचीकृत गरेको छ ।

उहाँको स्वामित्वमा १ दशमलव ७ अर्ब डलर बराबरको सम्पत्ति रहेको फोब्र्सले उल्लेख गरेको छ । उहाँको व्यवसाय खाद्य पदार्थ, विद्युतीय सामग्री, बियर र होटलको क्षेत्रमा रहेको छ । ब्याङ्किङमा पनि उहाँको सहभागिता छ ।

उहाँ सन् २०१३ देखि फाब्र्सको सूचीमा पर्दै आउनुभएको छ ।

-साभार : बिबिसी नेपाली