समाचार

बालबालिका, युवा, जवानहरुलाई उपहार स्वरुप न्यानो कपडा

अनलाइन नेपालगंज

बुधबार, ११ पुष २०७५

ख्रीष्टमस डे तथा नयाँ बर्ष सन २०१९ को अवसर पारी बालबालिका, युवा, जवानहरुलाई उपहार स्वरुप न्यानो कपडा दिईएको छ । बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १ धम्बोजीमा रहेको ग्रेस साइन चर्चमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रमका बीच जाडो छल्ने न्यानो कपडा उपहार दिएको हो ।

नील सागर असहाय अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका बालबालिका, वडा नम्बर १ धम्बोजी वरपर बसोबास गर्ने केही स्थानिय विपन्न वर्गका बालबालिका तथा युवा, जवानले न्यानो कपडा पाएपछि खुसी भएका थिए ।

शुभकामना आदान प्रदान तथा न्यानो कपडा उपहार वितरण कार्यक्रम समारोहमा ग्रेस साइन चर्चका वरिष्ठ पास्टर शेर बहादुर बोहरा, नेकपाका नेता अक्कल बहादुर बम लगायत अन्य राजनितिककर्मी, वडा सदस्य, स्थानिय समाजसेवी बुद्धिजिवी वर्ग, चर्चका इसाई परिवार, शुभेक्छुकजन लगायतको उपस्थिती रहेको थियो । न्यानो कपडा चर्चका इसाइ परिवार तथा स्वर्गद्धारी युनिफर्म हाउसका संञ्चालकले उपलब्ध गराउनुभएको हो ।