अर्थ/बजार

राप्तीसोनारीमा प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन तयार

अनलाइन नेपालगंज

शुक्रबार, २८ मंसिर २०७५

बाँकेको राप्तीसोनारी गाउँपालिका कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र रहेका विभिन्न नदी, खोलाबाट निर्माण सामग्री संकलनका लागि प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन (आईई) तयार गरेको छ । प्रतिवेदन “इन्भाइरोमेन्टल ओर्कस् एण्ड सर्भिसेज प्रालि” काठमाडौंसँगको सहकार्यमा गाउँपालिकाले तयार गरेको हो ।

प्रतिवेदन अनुसार राप्तीसोनारी गाउँपालिका अन्तर्गत राप्ती नदी तथा मुगुवा, खैरी, झिझरी र परुवा खोलाबाट बार्षिक रुपमा कुल ३ लाख ५९ हजार ७ सय ६७ घनमिटर ढुंगा, गिट्टी र बालुवा संकलन गर्न सकिनेछ । प्रतिवेदनमा वडा नम्बर ६ र ७ स्थित राप्ती नदीको ५८ हजार ४ सय ६५ वर्गमिटर क्षेत्रफल, वडा नम्बर २ स्थित मुगुवा खोलाको ५१ हजार बर्गमिटर, वडा नम्बर २ कै खेरी खोलामा ९ हजार ३ सय ८९ बर्गमिटर, वडा नम्बर ८ र ९ को झिझरी खोलामा ३३ हजार ८६ र वडा नम्बर ८ को परुवा खोलामा १४ हजार ८ सय ८ बर्ग मिटर क्षेत्रफलमा प्रस्ताव गरिएको छ ।

प्रतिवेदनको बैधानिकता आईई स्वीकृत भएको मितिले २ वर्षसम्म वा नदी तथा खोलाको भौगर्भिक आवश्यकता अनुसार एक वर्षमा पनि गर्न सकिने उल्लेख गरिएको छ । प्रस्तावित प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनबारे बुधबार जिल्लाका सरोकारवाला निकायलाई जानकारी गराइएको छ ।

उक्त प्रतिवेदनलाई जिल्ला समन्वय समितिको बैठकले स्वीकृत गरिसकेपछि मात्र कार्यान्वयन प्रक्रियामा लगिनेछ । सरोकारवालासँगको छलफलमा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले प्रतिवेदन स्वीकृत भए लगत्तै नियम अनुसार सूचना प्रकाशित गरेर तोकिएका स्थानबाट ढुंगा, गिट्टी र बालुवा संकलनका लागि ठेक्का आब्हान गरिने बताउनु भयो ।

उक्त छलफलमा इन्भाइरोमेन्टल ओक्स एण्ड सर्भिसेज प्रालिका तर्फबाट आरजु खड्का र निशा बाल्मिकीले सरोकारवालाको जिज्ञासा मेटाउनु भएको थियो ।

भने कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, उपसंयोजक ज्ञानेन्द्रकुमार चौधरी, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, वडा नम्बर ५, ८ र ९ का वडाअध्यक्षहरु क्रमश : झगरु थारु, खुमबहादुर बस्नेत र महाबीर ओली, जिल्ला प्रहरी प्रमुख एसपी अरुण पौडेल, सशस्त्र प्रहरी, डिभिजन वन कार्यालय लगायत निकायका प्रमुख तथा प्रतिनिधीको सहभागिता रहेको थियो ।