अन्य

सबै समुदायको भावनालाई सम्मान गर्न स्थानिय सरकार तयार छ : उपप्रमुख सन्जु, सामाजिक सद्भाव नखल्बलियोस : मुल महन्थ चन्दननाथ योगी

अनलाइन नेपालगंज

मंगलवार, २५ मंसिर २०७५

बाँकेको कोहलपुरमा आज ख्रिष्टमस डे, पर्व बिशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । बाँके इसाई समाज द्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा अन्तर धार्मिक सद्भाव मंञ्चका संयोजक एवंम वागेश्वरी मन्दिर नेपालगंजका मुल महन्थ चन्दननाथ योगीले हाम्रो सामाजिक सद्भाव नखल्बलियोस भन्दै सधै सानो भएर जीउन सिक्नुपर्ने बताउनुभयो ।

मंञ्चका उपाध्यक्ष एवंम मुस्लिम समुदायका गुरु मौलाना अब्दुल जब्बार मन्जरीले इस्लाम समुदायको ग्रन्थ कुरानमा पनि इसाई समुदायको बाइबलमा रहेका धेरै कुरा समावेश भएको भन्दै जुन देश र समाजमा आपसी मेलमिलाप र शान्ति हुदैन त्यहाँ दिगो विकास पनि नहुने बताउनुभयो ।

कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु कुमारी चौधरीले सबै समुदाय, वर्गहरुको भावनालाई कदर गर्न स्थानिय सरकार तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोहलपुर नगरपालिकाका १५ वटै वडामा विभिन्न समुदायको बसोबास छ, हामी सबैको हितमा हुने गरी काम गछौं ।”

आनन्द चर्च कोहलपुरमा भएको कार्यक्रममा बोल्दै बाँके इसाई समाजका सचिव तथा ग्रेस साइन चर्च नेपालगंजका पास्टर शेर बहादुर बोहराले इसाई समुदायलाई (मृत्यु पछि गर्ने संस्कारका लागी) समाधी स्थलको अति आवाश्यकता भएकाले यसतर्फ सम्बद्ध सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले नेपाली ख्रिष्टीयन समुदायको उत्थान र बिकासका लागी ख्रिष्टीयन धार्मिक आयोग गठन हुने पर्ने धाराणा पनि राख्नु भयो । यसैगरी इसाई समुदायका प्रदेश नम्बर ५ र ६ का वरिष्ठ पास्टर, अगुवा कर्णेलियस तामाङ्ग, बाँके इसाई समाजका उपाध्यक्ष एवंम अगुवा डक्ट प्रसाद धिताल, कोहलपुर एरियाका पास्टर नन्दलाल घर्ति लगायतले ख्रिष्टमस डे, पर्वको शुभकामना दिर्दै ब्यक्तिगत, पारिवारिक जिवनमा सुख, शान्ति, आनन्द परमेश्वरले धेरै आषिस दिनुभएको होस भनी प्रार्थाना सहित कामना गर्नुभयो ।

बाँके इसाई समाजका अध्यक्ष धन बहादुर पाण्डेको सभाध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखा कार्यसमिति सदस्य संगिन शर्मा, पास्टर कुल प्रसाद शर्मा लगायत विभिन्न चर्चका पास्टर, अगुवा, जवान, समाजसेवी बुद्धिजिवी वर्ग लगायतको उपस्थिती रहेको थियो । सहभागी पाहुनाहरुलाई बाँके इसाई समाजले खादा लगाई सम्मान पनि ब्यक्त गरेको थियो ।