अन्तर्वार्ता

मधुवन नगरपालिकाका नगरप्रमुख गणेश बहादुर केसी (कृष्ण) को दैनिकी

अनलाइन नेपालगंज

शुक्रबार, २१ मंसिर २०७५

एक जना उर्जाशिल नगरप्रमुख, बेस्तता निकै । त्यही पनि सबैतिर सहजै काम पुरा गर्न सक्नुभएको छ । समय ब्यवस्थापनको यहाँ त्यति ठुलो भित्री रहस्य पनि त्यस्तो केही छैन । बर्दिया जिल्लाको एउटा महत्वपुर्ण र तिब्र बिकासको गतिमा लम्कदै गरेको मधुवन नगरपालिकाका नगरप्रमुख गणेश बहादुर केसी (कृष्ण) को दैनिकी टिपोटको डायरीलाई पल्टाउदै हामीले यहाँ प्रस्तुत गर्न लागेका छौं ।

सबैभन्दा ठुलो कुरा इमानदारिता हो । इमानदारितामा चुकेन भने मान्छे अगाडि बढ्छ । र हामी युवा साथी कुलतमा फस्न हुदैन । आफनो काम आफै गर्नुपर्छ भन्ने उद्देश्य राखेयौ भने मलाई लाग्छ पक्कै पनि सफल भइन्छ । 

१. मेयर साव, हिजोआज तपाईको दैनिकी बारे अलि कति बुझौन ?
मेरो दैनिकी बारेमा भन्नुपर्दा, हालको नगरप्रमुख मात्र नभई म एउटा ब्यवासायि पनि हुँ । राजनितिलाई कमाउने भाँडा नबनाईकिन मैले साइड बिजनेस पनि विगत देखी गर्दै आएको छु । मेरो घरयासी कामकाज त छदैछ । बिहान गर्मी मौसममा म ३ देखी ४ बजे भित्र उठ्ने गरेको थिए भने अहिले जाडोमा नियमित ५ बजे उठने गरेको छु । साथीहरु मिलेर आधा देखी एक घण्टा सम्म हामी मर्निक वाक जाने गछौं । फर्केर मेरो आफनो नुहाउने देखी ब्यक्तिगत सरसफाईको काम हुन्छ ।

त्यसपछि केही समय देशको वर्तमान अवस्था बारे जानकारी लिने काम हुन्छ, विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन बाट । यसका साथै विभिन्न पुस्तकहरु पनि पढ्ने गरेको छु । एक घण्टा जति यता समय दिए पछि मेरो ब्यवासायिक काम शुरु हुन्छ । मेरो घरपरिवार कर्मचारीहरुले बितेको दिनभरी गरेका कामहरु हेर्दै सुझाव, सल्लाह, रेखदेख गर्दै चिया, खाजा, खानाको समय शुरु हुन्छ । त्यसपछि साथीभाई, आफन्त, शुभेक्छुक भेटघाट तथा मलाई आमान्त्रण गरिएका ठाउँमा जाने काम हुुन्छ । विहान १० बजे नियमित कार्यालय समय हो, त्यही पनि हामी प्रमुख, उपप्रमुख सल्लाह अनुसार बाहिर कार्यक्रममा हुदाँ एक अर्कालाई जानकारी गराउँछौं ।

दैनिकमा रुपमा ५० देखी १ सय जना जनता सँग भेटघाट हुन्छ । राती १० बजे भन्दा पहिले सुत्दीन अहिले पनि, यतिबेला सम्म मैले दिनभरी गरेका क्रियाकलापहरु समिक्षा र साथीभाई कसैको सुझाव प्रतिक्रिया लिनु पर्ने भए फोनबाट अथवा भेटेर पनि लिने गर्छु । म जहाँ कार्यक्रममा जान्छु, त्यहाँ बोल्दा पहिले गर्न सक्छु की सक्दिन भनेर सोचेर मात्र बोल्छु र त्यो कुरालाई टिपोट गरेर पनि राख्छु । यसरी नै अहिले हाम्रो दैनिकी चलिरहेको छ ।

२. बेस्त समयका बाबजुद पनि परिवारलाई समय मिलाउनुहुन्छ हैन ?
हजुर प्राय : मेरो बाहिर बस्ने चलन छैन । किनभने यो मेरो विगत देखीकै हो । अब धेरै नै टाढा गईयो भने मात्रै, भ्याए सम्म राती १० अथवा १२ बजे सम्म पनि घर फर्किने गरेको छु ।

३. तपाई विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष, सहकारीको अध्यक्ष हुदैं मेयर पद सम्मको यात्रा तय गर्नुभयो ? यहाँ सम्म आइपुग्दा के कस्ता कठिनाईहरु आईपुगे ?
त्यो त काम गर्दै जाँदा सबै कुराको सहजता हुदैन । मैले विभिन्न ठाउँहरुमा काम गर्ने क्रममा कतिपय मानिसहरु सोचकै कारण पनि उहाँहरुले विरोधका लागी विरोध गर्ने सिस्टम पनि हुन्छ हामी कहाँ, त्यस्ता कुराहरु पनि थुप्रै आए । तर काम गर्ने मान्छेले कहिले पनि विरोधको पछि लाग्नुहुदैन । आफुले सबैको राय र सुझाव लिन जरुरी छ । आफुले निर्णाय गरी यात्रा तय गर्न आवाश्यक छ ।

आफुले गलत यात्रा नग¥यो भने सहजताका साथ अगाडि बढ्न सकिन्छ । थुप्रै छेकबार, आरोपहरु आउन सक्छन, ति आरोपलाई चिर्दै एउटा त राजनिति गर्ने मान्छे कहिल्यै पनि सहनशिलता हुन जरुरी छ । किनभने थुप्रै बाधा अवरोधहरु आउन सक्छन । हाम्रै क्षेत्रमा गएको स्थानिय निर्वाचनमा थुपैै्र झड्प हुने स्थिती थियो । थुप्रै प्रतिक्रियाहरु थिए, तर मैले कहिले पनि ब्यक्तिगत अथवा पार्टी बिशेषलाई आरोपहरु लगाईन ।

कहिले पनि नराम्रो ब्यवहार मबाट भएन, त्यही ब्यवहारका कारण मलाई लाग्छ सबै पक्षको साथ र सहयोग भएर आज म यहाँ सम्म आउन सफल भए । विभिन्न समय र कालखण्डमा धेरै अवरोधहरु आउन सक्छन तर त्यसलाई सामना गदै अगाडि बढ्नुपर्छ भन्ने प्रेरणा मिलेका हुनाले पनि म अहिले यो स्थानमा छु ।

४. अलिकति बाल्यकालको जिवन र शिक्षा आर्जनको बिषय पनि खोतलौन ?
यहाँले एउटा गम्भिर प्रश्न पनि उठाउनुभएको छ । म कक्षा ९ मा पढ्ने बेला अर्थत आज भन्दा करिब १७ बर्ष पहिले देखी मेरो राजनितीक यात्रा शुरु भयो, तत्कालिन अवस्थामा नेपाल कम्युनिष्ट पार्टी जनयुद्धमा हुमीएको थियो, त्यही समयमा एक जना दिपक रोका सर सँग सम्र्पक बढ्यो ? उहाँ धर्मज्योति निमा.वि.मा अध्यापन गराउने उहाँ शिक्षक पनि हुनुहुन्थ्यो । त्यो सिलसिलमा एउटा विद्यार्थी संगठनको म शुक्र मा.वि. तारातालमा पढ्थे ।

त्यहाँ आईसकेपछि एउटा उहाँहरुले विद्यार्थी संगठनको भेला आयोजना गर्नुभयो । म भर्खरै ९ कक्षामा अध्ययनरत भएकै बेला जम्मा १५ बर्षको थिए । त्यसबेला मैले उहाँका कुराहरु सुने त्यसपछि मलाई पहिलो विद्यार्थी संगठनको अध्यक्ष सबै साथीहरुबाट चुनियो क्रान्तिकारीको । त्यतिबेला एकदमै खुलेर जान पनि त्यति सहज थिएन । हाम्रो ७ जनाको कमिटिमा ३ जना पुरुष र ४ जना महिलाहरु थियौं । त्यसरी मेरो भुमिगत राजनितिक यात्रा सगै पढाई पनि अगाडि बढ्दै गयो । म सानै उमेर देखी सामाजिक काममा बढी रुची राख्ने भएकाले यसतर्फ पनि गाउँघरमा काम गर्दै गए ।

५. राजनितीमा बिशेष गरी प्रेरणाको स्रोत कसलाई मान्नुहुन्छ ?
तत्कालिन समयमा मैले राज्य पक्षका केही कुराहरु बुझेको थिए । केही कुराहरु सुन्ने गर्दथे । राजसंस्था र पुरानो पिडीँको बिषय अब नयाँ युगमा फर्कनु पर्छ भन्ने कुरा खाले कुरा, बिशेष त दिपक रोका सर नै हो मेरो प्रेरणाको स्रोत । उहाँकै अहम प्रयासले म माओवादी पार्टीमा प्रवेश गरेको हुँ । मैले १ देखी कक्षा १० सम्म त्यही शुक्र मा.वि. मा नै अध्ययन गरेको हुँ ।

तयतिबेलाको आफनो सुरक्षा आफै गर्नुपर्ने भन्ने थियो । त्यसमा मेरो उमेर पनि सानो, ऋषि काप्ले लगायतका साथिहरुको साथमा म भारतको गुजरात भन्ने ठाउँमा पुगे । ४, ५ महिना जति साथीभाईहरुकोमा घुमफिर गर्दै दिन बिताए । तर लामो समय सम्म बस्नुपर्ने बाध्यताले गर्दा कामको खोजी गरी ३ बर्ष जति बसीयो, कडा परिश्रम गरे, भाँडा पनि माझियो । र हामीले त्यहाँ पनि संगठनका लागी प्रवास नेपाल भन्ने कमिटी गठन गरी त्यहाँ बाट पनि मैले काम गरे । सबै साथीहरु मिलेर एक÷एक रुपैयाँ (लेबि) उठाएर पनि नेपालमा पार्टीको लागी हामीले योगदान ग¥यौं ।

६. बाल्यकालको कुन घटनाले तपाईलाई धेरै विगतको याद सम्झाई रहन्छ ?
म कक्षा १० मा पढ्ने बेला हाम्रो भ्रमण गर्ने दिन आयो । हामी पोखरा, मनकामना भ्रमण गरेर फर्कीयौ । त्यही बेलामा हामी लमई भन्दा अगाडि आइसकेपछि हाम्रो गाडि चेक भयो । संकटकाल थियो, त्यसबेला नेपाली सेनाले हाम्रो गाडिलाई चेकजाँच गरेको थियो । त्यही बेला हाम्रो मोहन सर जो अहिले १२ नम्बरमा हुनुहुन्छ । उहाँको नेतृत्वमा हाम्रो टोली गएको थियो र विद्यार्थीको नेतृत्व मैले गरेको थियो । संयोगबस चेकजाँँच गर्ने सेनाले मलाई नै सोध्नुभयो । ति कुराले अलिकति मलाई हत्तोसाहित बनायो की अथवा कँही कतैबाट कसैले भनिदिए की भन्ने अवसोच उत्पन्न भएको थियो ।

त्यसपछि घर आएर भोली पल्ट स्कुल जानेबेलामा फेरी मेरो र मेरा साथीहरुलाई राज्यपक्षबाट खोजी भईरहेको छ भन्ने सुचना पायौं । पहिलोे घण्टीमै हुुनुहुन्थ्यो मोहन सर, त्यही बेला तपाईहरुलाई अलिकति खतरा छ की भन्ने संकेत पनि गर्नुभएको थियो । त्यसपछि फेरी म केही समय बाहिर पनि गएको थिए । फेरी आएर पढ्न शुरु गरे तर फेरी भारत जानुपर्ने बाध्यता आयो । केही बर्षको भारत बसाई पछि फेरी घर आएर मेरो ब्यवासायिक यात्रा शुरु भयो । शुरुमा मैले एउटा ट्याक्टर किनेको थिए । जुन एचएमटी भन्ने पुरानो मोडेलको गाडि थियो । कृर्षि बिकास बैंक मार्फत केही पैसा लगाएर ट्याक्टर किनेको हुँ मलाई संम्झना छ ।

म जुन विद्यालयमा अध्ययन गरे सोही विद्यालयको अध्यक्ष पनि भए । त्यसपछि पुन : काम गर्ने क्रममा पार्टी सँग म जोडिन पुगे । अहिलेका नेकपाका नेता लक्ष्मी प्रसाद शर्मा (आकास) ज्यूहरु सँग मेरो सम्र्पक भयो । तत्कालिन अवस्थामा जुन माओवादी पक्षबाट रम्बापुर ब्यारेकमा आक्रमण गर्ने भन्ने योजना थियो त्यसमा मैले ड्राइभरको भुमिका पनि निर्वाह गरेको थियो । मलाई अहिले पनि सम्झना छ, त्यो लडाईको रातीमा आफना साथीहरुलाई उठाउदै केही साथीहरुलाई उद्धार पनि गरेको थिए ।

मलाई पार्टीले त्यो जिम्मा पनि दिएको थियो । रम्बापुरको लडाईमा हाम्रो ठुलो क्षति भएको थियो, त्यही पनि मैले निडरताका साथ आफनो जिम्मेवारी पुरा गरे । त्यसरी साविक ताराताल गाविसको पार्टी अध्यक्षमा मलाई सबै साथीहरुले चयन गर्नुभयो । २०६२/०६३ को जनआन्दोलन पछि पाएका जिम्मेवारी पछि सानोश्री ताराताल हुँदा सम्म पुग्यो । पछि फेरी साविकका ४ वटा गाविसहरु मिलेर मधुवन नगरपालिका बन्यो यो अवस्था सम्म आइपुग्दा पनि साथीहरु सबैले मलाई जिम्मेवारी दिनुभयो ।

र मैले आफनो ब्यवसायलाई पनि साथमा राख्दैं यहाँ आउने बेलामा बर्दियाका ८ वटा स्थानिय तहमध्ये मधुवन नगरपालिकामा मलाई लाग्छ सबैभन्दा पहिला मलाई सबै जनाले सर्मथन गरेर र्निविरोध पार्टीको उम्मेदवार घोषणा गराउनुभएको थियो । त्यही अनुरुप म खटे र मैले आफनो काम गर्नुपर्छ, आम सर्वसाधारण जनतालाई सम्मान गर्नुपर्छ । पार्टी बिशेष मात्र होइन, अन्यायमा परेको ब्यक्तिलाई न्याय दिलाउन अहम पहल गर्नुपर्छ ।

मैले कुनै पनि दिन पार्टी भनीन, मेरो अलि खरो स्वभाव छ, पार्टी भनेर गलतलाई ढाकछोप पनि गरिन । त्यही स्वभावका आधारमा पनि मलाई लाग्छ, यो निर्वाचनमा माओवादी मात्र नभईकन तत्कालिन अवस्थामा नेकपा एमाले, नेपाली काँग्रेस, राप्रपा लगायत सबैले माया गरेर अत्याधिक मतले म बिजयी  भएको थिए ।

७. जस्तो की अहिले धेरै युवाहरुमा एउटा राजनितिक वितृष्ण देखिन्छ ? उभो लागीन्छ, लागीदैन भन्ने पनि छन ? यसमा तपाईको बुझाई के छ ?
बास्तवमा भन्ने हो भने हाम्रो नेपालको राजनिती लामो समयदेखी अलि गलत ट्रयाकबाट हिडेको हुनाले युवाहरुलाई वितृष्णा जागेको हुन सक्छ । “जुन जोगी आए पनि कानै चिरेका” भन्ने उखान सर्वपत्र छाईसकेको अवस्थामा अहिले ठुलो त्याग, तपस्या, परिवर्तन र बलिदानीपछि यो देशमा ठुलो बद्लाभ भएको छ । यहाँ संघियता आएको छ, गणतन्त्र आएको छ । धर्मनिरपेक्ष राज्य घोषण भएको छ ।

तर परिवर्तन हुर्दै गर्दा तत्कालिन अवस्थामै भएका र राजनिति पनि तिनैले गरिरहेको अवस्थामा पुरानै मानसिक सोच भएको हुनाले यो सोचलाई परिवर्तन गर्न समय लाग्दो रैछ । हामी नेताहरुमा पनि ठुलो कमजोरी छ, त्यसलाई परिवर्तन गर्न जरुरी छ । अलि पाको नेताहरुलाई गाहे भएको जस्तो पनि देखिन्छ । युवाहरुले चाँडै परिर्वतन गर्न सक्छन । त्यसैगरी कर्मचारी संयन्त्रमा पनि लामो समयदेखी पुरानै सोच, शैलीमा चल्दैआउनुभएको हुनाले उहाँहरुलाई पनि परिवर्तन हुन अलि गाहे भईरहेको छ ।

तर अब युवाहरुले चाँही के बुझ्न जरुरी छ भने काम गर्ने बेला युवाहरुको हो । हामीले बोल्दा, हिड्दा खाँदा पनि सबै समाजलाई सोचेर लाग्नुपर्छ । जस्तो अहिले हामी युवा जनप्रतिनिधिहरु माझ एउटा अवसर र चुनौति पनि आएको छ । यसलाई हामीले सफलतापूर्वक सम्पन्न गर्न सक्यौ भने भोलीका दिन अन्य युवाहरुलाई राजनिती प्रति जागेको बितृष्णा कम भई अझ सक्रिय भई राजनिति गर्ने प्रेरणा मिल्दछ । म अनुरोध र अपिल पनि गर्न चाहान्छु, की तपाई हामी पढे लेखेका युवाहरुले समाज परिवर्तन गर्दै विकास गर्ने लक्ष्य नै यो राजनिति हो । हामी सुध्रर्न जरुरी छ ।

८. यहाँ सम्म आइपुग्दा आफु सफल भएजस्तो लाग्छ की लाग्दैन तपाई स्वंयमलाई ?
मलाई लाग्छ अहिले त म शुरुवातको चरणमा छु । सबैभन्दा ठुलो कुरा इमानदारिता हो । इमानदारितामा चुकेन भने मान्छे अगाडि बढ्छ । र हामी युवा साथी कुलतमा फस्न हुदैन । आफनो काम आफै गर्नुपर्छ भन्ने उद्देश्य राखेयौ भने मलाई लाग्छ पक्कै पनि सफल भइन्छ ।

८. मधुवन नगरपालिका समृद्ध बनाउने सन्र्दभमा तपाईले धेरै योजनाहरु बनाउनुभएको पनि होला ? थोरै चर्चा गरौन ?
मैले मधुवन नगरपालिकामा बिशेष त चार, पाँचवटा कुरालाई बढी जोड् दिएको छु । मैले भन्ने गरेको छु, मधुवन नगरपालिकाको सडक, शिक्षा, स्वास्थ्य, कृर्षि र पर्यटन । मधुवन नगरपालिकाले सडकको निश्चित मापदण्ड निर्धारण गरेको छ । मुख्य सडकको मापदण्ड १४ मिटर, केही भित्री सडकहरुको लम्बाई हेरेर १२, १०, ८ मिटर हामी कायम गरेका छौं । यसरी आज गरेको निर्णायले भोली झन–झन जनताको धेरै धनजनको क्षेति नहोस भनेर हामीले सडकको ब्यवस्थापन, नमुना मार्गहरु बनाउने, स्तरउन्नती गर्ने काम पनि गरिरहेका छौैं ।

शिक्षाको क्षेत्रमा निजी विद्यालय र सामुदायिक विद्यालय विचको दुरी कम गछौं । सुकुम्बासी, मुक्तकमैया, भुमिहीन लगायत तल्लो वर्गका बालबालिकाहरुले पनि गुणस्तरिय शिक्षा पाउन भनेर हामीले पहल बढाएका छौं । र सबै वडामा प्राविधिक शिक्षाको स्थापना गछौं । त्यसै आधारमा अहिले मधुवनका ४ वटा ठाँउमा प्राविधिक शिक्षाहरु सञ्चालन भईसकेको छ । सबै वडामा जाने गरी हामीले तयारी थालेका छौैं । स्वास्थ्य क्षेत्रको सन्र्दभ कुरा गर्दा सबै वडामा एउटा शहरी स्वास्थ्य क्लिनिक स्थापना गर्ने, त्यहाँ आवाश्यक पर्ने स्वास्थ्य जनशक्ति, स्रोत साधानहरुको उपलब्धता गराउने भन्ने कुरा छ ।

नेपाल सरकारले उपलब्ध गराउदै आएको निशुल्क स्वास्थ्य उपचार सेवाहरु सबै वडामा पु¥याउने हाम्रो तयारी छ । केही वडामा सञ्चालन गरिसकेका छौं । सबै वडामा वडा कार्यालय स्थापना गरी आम जनतालाई नियमित सेवा प्रवाह गरिरहेका छौं । यसैगरी कृर्षि क्षेत्रलाई पनि समयानुकुल अघि बढाउनु पर्छ भन्ने उद्देश्य अनुरुप ब्यवासायिक कृषकहरुलाई अनुदानको ब्यवस्था पनि गरेका छौं । गत आर्थिक वर्षमात्रै हामीले ४२ जना कृषकहरुलाई गोठ सुधार भनेर २० हजार रुपैयाँ देखी ३० हजार रुपैयाँ सम्म हामीले अनुदान पनि दिएका छौं ।

जसमा गाई, भैसी, बंगुर, बाख्रा पालन गर्ने कृषक छनौटमा पर्नुभएको थियो । कृषकलाई आवाश्यक पर्ने उन्नत जातका बीउहरु पनि उपलब्ध गराउदै आएका छौं । हाम्रो कृर्षि शाखाबाट । ५० प्रतिशत अनुदानमा घाँसका बीउहरु दिईरहेका छौं । केही बोरिङ्ग किसानलाई अनुदानका रुपमा वितरण गरेका छौं भने केही पावर टिलरहरु पनि वितरण गर्ने सोचमा हामी छौं । यसैगरी सहकारीको माध्यमबाट पनि कृषकको पक्षमा काम अगाडि बढाईरहेका छौं । सिंचाई सुविधाका लागी बबई सिंचाई आयोजना र भेरी बबई ड्राईभर्सन निर्माणको जिम्मा पाएका पक्ष सँग छिटो काम सम्पन्न गर्ने सन्र्दभमा समन्वयात्मक कुराकानी भईरहेको छ ।

यसैगरी पर्यटन क्षेत्रको विकासका लागी थुप्रै योजनाहरु बनाएका छन । यि सबै क्षेत्र समेटदै मधुवन नगरपालिका मेरो कार्यकाल ५ बर्ष भित्र मैले निर्वाचनका बेलामा भनेको छु, आम किसानले खेतमा जान पनि हिलो टेक्न पर्दैन । त्यस्तो खालको प्रतिबद्धताका साथ सबै पक्षलाई समेटेर त्यही स्पिडमा कामलाई अगाडि बढाएको छु । र केन्द्रिय सरकारले पनि हाम्रा कुराहरुलाई सुनेको छ, सहयोग गरिरहेको छ, प्रदेश सरकारलाई पनि हामीले अनुरोध गरिरहेका छौं ।

(पत्रकार भीम उचै ठकुरीले गर्नुभएको कुराकानीमा आधारित)