फोटो फिचर

तरुण दलले बुझायो राष्ट्रिय मानवअधिकार आयोगमा ज्ञापन पत्र, रोहित पुनको न्यायको लागि पहल गरिदिन आग्रह

अनलाइन नेपालगंज

सोमबार, २२ आश्विन २०७५

अनलाईननेपालगंज डटकम :
पेट्रोलियम पदार्थ लगायतमा सरकारले गरेको मूल्यवृद्धि र निर्मला पन्तको हत्याराको पर्दाफासको माग गर्दै हिजो मात्र काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको नेपाल तरुण दल केन्द्रीय समितिले आज फेरी राष्ट्रिय मानवअधिकार आयोगमा समेत ज्ञापन पत्र बुझाएको छ | आज भने नेपाल तरुण दल रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्या गर्ने नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता देव घर्ति लगायत हतियारधारी समुहलाई छिटो भन्दा छिटो कानुनी कठघरामा उभ्याई कारवाही गर्न र रोहित पुनलाई शहिद घोषणा गर्नुको साथै मृतकको परिवारलाई उचित क्षेतिपूर्ति दिनुपर्ने भन्दै नेपाल तरुण दल केन्द्रीय अध्यक्ष जित जंग बस्नेतको नेतृत्वमा नेपाल तरुण दल केन्द्रीय समितिले आज राष्ट्रिय मानवअधिकार आयोगलाई ज्ञापन पत्र बुझाएको हो |


घटना भएको यत्तिका लामो समय भईसक्दा पनि प्रहरी प्रशासन र सरकार पक्षबाट कुनै पनि किसिमको नतिजा बाहिर आउन नसकेको आरोप समेत तरुण दलले लगाएको छ | यस्तै उक्त घटना पूर्णरुपले राजनीतिक प्रतिशोधको आधारमा सुनियोजित ढंगबाट गरिएको भन्दै तत्काल दोषीलाई कारवाही गरिनुपर्ने माग समेत नेपाल तरुण दलको ज्ञापन पत्रमा उल्लेख गरिएको छ | सरकार पक्ष र प्रहरी प्रशासनबाट उक्त घटनालाई बेवास्ता गरिएको भन्दै मृतक रोहित पुनलाई शहिद घोषणा गर्न र मृतकको परिवारलाई उचित क्षेतिपूर्ति दिनुको साथै दोषीलाई छिटो भन्दा छिटो कारवाही गर्नको लागि पहल गरिदिनको लागि र नेपाल सरकार लगायत सम्बन्धित पक्षको यस घटनामा ध्यान आकर्षण गराईदिनको लागि समेत नेपाल तरुण दलले ज्ञापन पत्र मार्फत राष्ट्रिय मानवअधिकार आयोग संग अनुरोध गरेको छ |


यस्तै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले घटना संलग्न भएका अपराधीहरुले कुनै पनि हालतमा उन्मुक्ति पाउन नहुने भन्दै राष्ट्रिय मानवअधिकार आयोगलाई छिटो भन्दा छिटो प्रक्रिया अगाडी बढाउनको लागि आग्रह समेत गर्नुभएको छ | यस्तै शहिद घोषणाको सबै प्रक्रिया पुर्याईसकेको तर गृहमन्त्रालयले नै कुनै चासो नदेखाएको समेत उहाले बताउनुभयो | त्यसै गरी राष्ट्रिय मानवअधिकार आयोगलाई नेपाल तरुण दलको साथ र सहयोग चाहिएमा नेपाल तरुण दल हरदम सधै तयार रहेको समेत उनले प्रष्ट रुपमा बताउनुभएको छ |