विशेष

१४ जना वकिलले लड्नेछन् कोहलपुरमा वृद्धद्दारा नातिनीमाथि बलात्कार प्रकरणको मुद्दा

अनलाइन नेपालगंज

शुक्रबार, १२ आश्विन २०७५

कोहलपुर ।

बाँकेको कोहलपुरमा एक वृद्धले आफ्नै सहोदर नातिनीलाई ३ वर्षदेखि बलात्कार गरेको खुलासा भएको छ ।

कोहलपुर नगरपालिका ५ बस्दै आएका ७५ वर्षीया रामचन्द्र घिमिरे (नाम परिवर्तन) ले १६ वर्षीया नातिनी उषा घिमिरे (नाम परिर्वन) लाई बलात्कार गरेको खुलासा भएको हो । उषा स्थानीय एक विद्यालयमा कक्षा ६ मा पढ्दै आएकी थिइन् ।

प्रहरीले नातिनीको नाम गोप्य राख्नका लागि हजुरबुवाको नाम पनि गोप्य राखिएको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रमेशबहादुर सिंहले रामचन्द्रविरुद्ध अदालतमा मुद्दा दायर भएको बताए ।

‘‘०७२ सालदेखि ०७५ सालसम्म आफ्नै नातिनीलाई यौन शोषण गरेको उजुरी आएको हो । केही कुरा पुष्टि पनि भएका छन्,” डीएसपी सिंहले भने ।

घरजग्गा कारोबारी रहेका घिमिरेको करोडौं बराबरको सम्पत्ति छ भने उनले ४ जनासँग विवाहसमेत गरेका छन् । ‘‘छोरा बुहारी अन्तै बस्ने र हजुरबुवासँग पढ्नका लागि पठाइएको रहेछ ।

यस्तोमा उनले यौन शोषण गर्ने गरेको पाइयो । पीडित किशोरीले नै अदालतमा बयान दिएकी छिन्,’’डीएसपी सिंहले भने ।

घिमिरेले आफ्नो पक्षमा मुद्दा लड्नका लागि मात्रै १४ जना अधिवक्ता (वकिल) राखेका छन् । प्रहरीले उनलाई एक महिनाअघि पक्राउ गरेको थियो । कोहलपुर प्रहरीका डीएसपी सिंहले बालहिंसा र महिला हिंसाविरुद्ध प्रहरी कडाइका साथ प्रस्तुत भइरहेको बताए ।

 

paschimnews.com