समाचार

नेपालगञ्ज विमानस्थलमा ३६ हजार नगदसहित प्राप्त हाते व्याग सम्बन्धितलाई बुझाईयो

अनलाइन नेपालगंज

बिहीबार, ११ आश्विन २०७५

नेपालगञ्ज : नेपालगञ्ज विमानस्थल बाहिर भेटिएको कालो रङ्गको लेडिज हाते ब्याग सम्बन्धितलाई बुझाईएको छ । नगद सहित सो व्याग भेटिएको समाचार सदरलाइनडटकमले मंगलबार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएको केही समयमै ब्यागको सम्बन्धित धनि सम्पर्कमा आएकी थिइन ।

सिमा प्रहरी चौकी हिल्सा हुम्ला दरबन्दीका प्रहरी हवल्दार आत्मराम भण्डारी र प्रहरी चौकी ठेहे हुम्ला दरबन्दीका प्रहरी जवान सुरेन्द्रबहादुर केसीले गत सोमबार साँझ फेलापारेको सो कालो ब्याग नेपालगञ्ज– १ का मिना श्रेष्ठ र रचना श्रेष्ठमार्फत संबन्धित ब्यागका धनि सुनिता अधिकारीले पाउने गरी नेपालगञ्ज विमानस्थलमा नै बुझाएका हुन ।

सो व्यागमा ३६ हजार नगद, काठमाण्डौ महानगरपालिका–९ ठेगाना उल्लेख भएको सुनिता अधिकारीको नागरिकता, पशुपति बहुमुखि क्याम्पस चाबहिल काठामाण्डौको स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी परिचयपत्र रहेको थियो ।
स्थानीय समाजसेवी समेत रहेका मिना श्रेष्ठ र रचना श्रेष्ठको सो ब्यागकी धनी सुनिता अधिकारीसंग नजिकको सम्बन्ध रहेको कारण श्रेष्ठद्वय मार्फत सो ब्याग र त्यसमा भएको सबै सामान बुधबार नै अधिकारीले पाउने गरी काठमाण्डौ पठाईएको हो ।

 

sadarline