समाचार

दुई कर्मचारीका भरमा गाउँपालिका

अनलाइन नेपालगंज

आईतवार, ७ आश्विन २०७५

– पेमा लामा


बनेपा, असोज ८ – काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका दुईजना मात्रै कर्मचारीको भरमा सञ्चालन भइरहेको छ ।

जनतालाई आफ्नै घर आँगनमा सेवा दिने उद्देश्यले गठन भएका स्थानीय तहले कर्मचारी अभावका कारण सेवाग्राहीले चाहेअनुसार सेवा दिन कठिनाई भएको हो । प्रदेश नं ३ अन्तर्गतको विकट सो गाउँपालिकामा १७ जनाको दरबन्दी रहेको छ । तर अहिले प्रमुख प्रशासकीय अधिकृत र लेखापाल मात्रै रहेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले राससलाई बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमोण्ड थापामगरले पनि गाउँपालिकामा दरबन्दीअनुसार कर्मचारी नभएको बताउनुभयो । त्यस्तै हुनुपर्ने वडा सचिवसमेत नहुँदा गाउँपालिकाको प्रशासनिक काम तथा सेवाप्रवाहमा धेरै समस्या व्यहोर्नु परेको उहाँको भनाइ छ ।

“कर्मचारी पर्याप्त नहुँदा प्रभावकारी रुपमा सेवा दिन सकिरहेका छैनौँ”, उहाँले भन्नुभयो, “जसका कारण यसक्षेत्रका सेवाग्राहीको गुनासो धेरै आइरहेको छ ।” गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले दरबन्दीअनुसार कर्मचारी नहुुनु र वडामा वडा सचिव नहुँदा निकै समस्या खेपिरहनु परेको बताउनुभयो ।

“दरबन्दीअनुसार कर्मचारी उपलब्ध गराउन र वडा सचिव पर्याप्त मात्रामा उपलब्ध गराउन भनेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटक÷पटक निवेदन पेश गरिरहेका छाँैं, तर कुनै पनि प्रतिक्रियासमेत पाइरहेको छैनौ”, अध्यक्ष जिम्बाले भन्नुभयो, “सधैँजसो हामी व्यवस्थापन गरिरहेका छौंँ भन्ने मात्रै जवाफ दिइरहनु भएको छ ।” उहाँका अनुसार गाउँपालिकाको आठ वडामा अहिले तीन जना मात्रै वडा सचिवले काम गरिरहेका छन् । पर्याप्त वडा सचिव नहुँदा सेवाग्राहीले भन्ने बेलैमा सेवा लिन नपाएको उहाँले बताउनुभयो ।

सचिव पर्याप्त नहुँदा सेवाग्राहीलाई भन्ने बेलामा सेवा दिन नसकेको वडा नं– ६ का वडा अध्यक्ष रमेशकुमार लुङ्गेलीले बताउनुभयो । “वडा सचिव पर्याप्त नभएका कारण सिफारिस लेख्नेदेखि सबै काम आफूले नै गर्नुपर्दा समस्या खेप्नु परिरहेको छ”, उहाँले भन्नुभयो, “सेवाग्राहीलाई भन्ने बेलामा सेवा नै दिन गाह्रो भइरहेको छ ।”

भएका तीन जना वडा सचिवमध्ये अहिले रेवतीरमण निरौलाले वडा नं १, २ र ८, रामचन्द्र ढकालले वडा नं ३, ४ र ५ तथा भरत बस्नेतले ६ र ७ नं वडाको जिम्मा लिएर काम गरिरहेको कार्यालयले जनाएको छ । वडा सचिवको अभावमा जनताको काम प्रभावित नहोस् भन्ने उद्देश्यले अहिले कार्यालय सहयोगी नियुक्त गरी काम गरिरहेको अध्यक्ष जिम्बाले बताउनुभयो ।