मनोरञ्जन

नारायण रायमाझीको ‘लाईछेउ बेसन’को नयाँ भर्सन सार्वजानिक(भिडियाे)

अनलाइन नेपालगंज

शुक्रबार, ५ आश्विन २०७५

काठमाडाैं ।

नेपाली लोकसांगीतिक क्षेत्रका धरोहर गायक नारायण रायमाझीको करिव १४ वर्ष अघि रेकर्ड भएको गीत लाईछेउ बेसनको रिमेक (पुनःताजकी) सार्वजानिक गरिएको छ । करिव १४ अघि रिमा रेकर्डिङ्ग स्टुडियोले बजारमा ल्याएको लाईछेउ बेसनलाई नयाँ एरेन्जमेन्ट सहित नयाँ भिडियो रिमा इन्टरटेन्टमेन्टले रिलिज गरेकोे हो ।
समाजमा भए गरेका विकृति र फेसनको व्यङ्ग्य गर्दै उतिखेर गायक रायमाझीले यो गीत रेकर्ड गरेका थिए । लोक गीत भन्ने वित्तिकै पश्चिम क्षेत्रमा मात्रै चल्ने र सुन्ने परम्परालाई तोड्दै यो गीत त्यसबखत पुर्वी क्षेत्रमा समेत लोकप्रिय बनेको थियो । पहिले रेकर्ड भएको गीतमा गायक नारायण रायमाझी र गायिका सिन्धु मल्लले स्वर दिएका थिए ।
भिडियोमा वरिष्ठ कलाकार प्रेमदेव गिरी र पप्पु पुनको अभिनय रहेको थियो । गीत सार्वजनिक भएदेखी सर्वाधिक रुचाइएको र सबै नेपालीको ओठओठमा झुण्डीन सफल भएको थियो ।त्यस बेलाका तन्नेरीहरु तरुनी फकाउन लाईछेउ बेसनको क्यासेट किनेर टेपमा घन्काउदै गाउघर,विवाह,जात्रामेला, उत्सवहरुमा घुमिरहेका दृष्यहरु पनि बाक्लै देखिन्थे ।
हाल ‘लाईछेउ बेसन’ गीत देश तथा बिदेशहरुमा कलाकारहरुले दोहोरी खुबै गाउने गर्दछन । युटुवमा रहेको पुरानो गीतको भिडियो मधुरो देखीने र आधुनिक परिवेश अनुसार नभएकोले ‘रिमेक’ गरेर ल्याइएको गायक रायमाझी बताउछन ।

लय पुरानै भएपनि शब्द र भिडियोमा देखीने कलाकारहरुलाई समय सापेक्ष बनाइएको छ । रिमेक (पुनःताजकी) गरिएको गीतमा नारायण रायमाझी, मेलिना राई र बि.बि अनुरागीले स्वर दिएका छन ।

संगीत रायमाझी आफैले गरेका हुन भने शब्द रमेश बिजिले सृजना गरेका हुन । भिडियोमा निर्देशन तथा कोरियोग्राफी विवेक खड्का र बिन्दु खड्काको रहेको छ । अन्य कलाकारहरु शेरबहादुर गुरङ, मनोज खड्का, मिराज अर्याल, सुमित्रा तामाङ, पुजा मर्हजन, मिरा खड्का,विकास गुरुङ,रोजिना गुरुङ,सुनिल घतानी लगायत रहेका छन ।
वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीले दर्शक तथा श्रोताको माग र चाहाना अनुसार पुराना गीतहरु पुनःताजकी गरेर रिमा इन्टरटेन्टमेन्ट मार्फत बजारमा ल्याउने बताएका छन । उनले श्रोता र दर्शकको सल्लाह सुझाव सधै सिरोर्धाय गर्दै अगाडी बढ्ने बचन दिएका छन ।

नेपाली लोक दोहोरी गीत संगीतलाई व्यवसायिक रुपमा स्थापित गराउने लोकप्रिय व्यक्ति रायमाझीले बि.सं २०४९ मा रिमा रेकर्डिङ्गको स्थापना मात्र गरेनन, त्यो संगै दर्जनौ चर्चित कलाकारलाई स्थापित गराए ।

नेपालपथ