खेलकुद

एन्फाले ट्रफी टुर आयोजना गर्ने, यस्तो छ रूट

अनलाइन नेपालगंज

सोमबार, १ आश्विन २०७५

काठमाडाैं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक ट्रफी टुर आयोजना गर्ने भएको छ । आइतबार एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लिग समितिका संयोजक विज्ञानराज शर्माले साहिद स्मारक ए डिभिजन लिगको ट्रफी काठमाडौं उपत्यकामा टुर गरिने बताए ।

सोमबार दशरथ रंगशालाबाट सुरु हुने ट्रफी टुर उपत्यकाका सात स्थानमा पुर्याइने छ । पहिलो पटक विद्यालय केन्द्रित रहने ट्रफी टुरको मुख्य उद्देश्य लिग फुटबलको माहोल सिर्जना गर्नु रहेको संयोजक शर्माले बताए । रंगशालामा हुने कार्यक्रम त्रिपुरेश्वरस्थित विश्व निकेतन माविको विद्यार्थीलाई केन्द्रित गरेर आयोजना गर्न लागिएको हो । सोमबार १ बजेबाट कार्यक्रम सुरु हुनेछ ।

टुर अन्तर्गत काठमाडौंका ५ तथा ललितपुर र भक्तपुरको १-१ विद्यालयमा कार्यक्रम आयोजना गरिनेछ । पछिल्लो पटक मनाङ मर्स्याङदि क्लबले जितेको यस लिगको इतिहास पनि झन्डै ८५ वर्ष पुरानो छ । ९० सालको भूकम्पपछि रामजानकी ट्रफीको नामबाट सुरु भएको यस ट्रफी २००७ सालमा नेपाल पुलिसले पच गरेको थियो ।

प्रजातन्त्र स्थापनाका बेलामा दिवंगत भएका शहिदहरुको सम्झनामा यस ट्रफी अहिले शहिद स्मारक ए डिभिजन लिगले परिचित रहँदै आएको छ । आरसिटीले विसं २०२८, २०२९ र २०३० मा लगातार सहित स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जित्दै ट्रफी पचाएर हाल आफ्नो संग्रहालयमा उक्त ट्रफी सुरक्षित राखेको छ ।

hamrokhelkud.com