खेलकुद

३६ वर्षको उमेरमा ज्लाटानले पार गरे ५ सयाैँ गोलको कोशेढुंगा(भिडियो)

अनलाइन नेपालगंज

आईतवार, ३१ भाद्र २०७५

काठमाडाैं  ।

अमेरिकी लिगमा व्यवसायिक फुटबल खेल्दै आइरहेका स्विडिस फरवार्ड ज्लाटन इब्राहिमोभिचले आफ्नो फुटबल करिअरको ५ सयौं गोल पूरा गरेका छन् । शनिबार मेजर लिग सकरअन्तर्गत टोरोन्टोविरुद्धको खेलमा उनले उत्कृष्ट गोल गर्दै सो उपलब्धि हासिल गरेका हुन् ।

खेलको ४३ औं मिनेटमा जोनाथन डस सान्टोसको पासमा उनले ब्याकहिल प्रहारमा गोल गरे । उनको टोली एलए ग्यालेक्सीले ३-० ले पछाडी परेको स्थितिबाट पुनरागमन गर्दै खेल ३-३ को अवस्थामा ल्याएपनि अन्तमा ५-३ को हार बेहोर्यो । ज्लाटनले ५ सयौं करिअर गोल गरेको खेलमा पराजित हुनुपर्दा दुख लागेको बताए ।

‘ खेल हार्दा दुख लाग्नु स्वभाविक हो । आज झनै विशेष दिन थियो । म टोरोन्टोको लागि भने खुसी छु किनकि मेरो ५ सयौं गोल उनीहरु विरुद्ध थियो भनेर सम्झना हुनेछ,’ इब्राले भने ।

खेलमा पराजित हुनुका बाबजुद इब्राले ट्वीटरमार्फत आफ्नो उपलब्धिको खुसी बाँडेका थिए । ३६ वर्षीय फरवार्ड गत सिजन म्यानचेस्टर युनाइटेड छाडेर अमरिकी क्लब ग्यालेक्सीमा आबद्ध भएका हुन् । उनले हालसम्म ग्यालेक्सीबाट २२ खेल खेल्दै १७ गोल गरिसकेका छन् ।

युरोपका ठूला क्लबबाट खेलिसकेका उनले सबै पुराना क्लबमा आफ्नो अमिट छाप बसाएका छन् । उनले प्रतिस्पर्धा गरेका लगभग सबै क्लबबाट घरेलु लिगको उपाधि जितेका छन् । उनले राष्ट्रिय टोलीबाट पनि झन्डै डेढ दशक खेलेका थिए । त्यसक्रममा उनले राष्ट्रिय टोलीका लागि ६२ गोल गरे ।