समाचार

आमाको स्मृतिमा अस्पताललाई उपकरण सहयोग

बिहीबार, १४ भाद्र २०७५

बेनी, १४ भदौ – यहाँको एक परिवारले जिल्ला अस्पताललाई उपकरण सहयोग गरेको छ ।

रघुगङ्गा गाउँपालिका–२ तल्लाघरका मुकुन्द सुवेदी र माधव सुवेदीले आमा धनीदेवीको स्मृतिमा बेनी अस्पताललाई रु ३० लाख मूल्य पर्ने डायलाइसिस मेशिन सहयोग गरेका हुन् । मिर्गौला सम्बन्धी रोगको उपचारमा प्रयोग गरिने दुई थान मेशिन माधव र उहाँकी धर्मपत्नी सपनाले अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अनिल पाण्डे तथा अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष माधवप्रसाद रेग्मीलाई हस्तान्तरण गर्नुभयो ।

हाल अष्टे«लियामा बस्दै आउनुभएका माधवले मिर्गौला रोगीको उपचार सहज होस भनी उपकरण सहयोग गरेको बताउनुभयो । सुवेदी परिवारबाट प्राप्त उपकरण मिर्गौला रोगीको उपचारका लागि आधार बनेको डा पाण्डेले बताउनुभयो । उहाँले छिट्टै डायलाइसिस सेवा शुरु हुने जानकारी दिनुभयो । अहिले जिल्लाका मिर्गौला रोगी उपचारका लागि पोखरा र काठमाडौँका अस्पताल पुगेर डायलाइसिस गराउँदै आएका छन् । अस्पतालले रु १३ लाखमा डायलाइसिसमा प्रयोग हुने उपकरण खरीद गरिसकेको बताइएको छ ।

साभार- rss