अन्तराष्ट्रिय समाचार

विमानस्थललार्इ लक्षित गरी १ दर्जन हवाई हमला

मंगलवार, १२ भाद्र २०७५

साना, १२ भदौ – विद्रोहीको बलियो प्रभाव रहेको यमनको राजधानी सानाको विमानस्थलमा स्थानीय समयानुसार सोमबार मध्यराति साउदी गठबन्धनले एक दर्जन बढी हवाई हमला गरेको छ ।

यमनका हुथी विद्रोही समूहले हवाई हमला मध्यराति सुरु भएको र करिब आधा घण्टासम्म जारी रहेको जनाएको छ । यद्यपि प्रायः यो विमानस्थल प्रयोगमा आउने गरेको छैन । उक्त विमानस्थल नजिकै अल दैलामी हवाई शिविर पनि रहेको छ ।

साउदीको अग्रसरताको संयुक्त सेनाले बेलाबखत यी दुबै विमानस्थलमा हवाई हमला गर्ने गरेको स्थानीय वासिन्दा र हुथी विद्रोहीआवद्ध टेलिभिजन अल मसिराहले जनाएका छन् । तर हालसम्म यस कारबाहीबाट मानवीय क्षतिको कुनै सामाचार आएको छैन ।
हुथी विद्रोहीले दुबई विमानस्थलमा मानवरहित ड्रोन आक्रमण गरेको दाबी गरेलगत्तै केही घण्टापछि सोमबार रातिको आक्रमण भएको बताइन्छ । तर संयुक्त अरब इमिरेट्सले हुथी विद्रोहीको दाबीलाई अस्वीकार गरेको छ ।
साउदी अरेबियाआवद्ध संयुक्त सेनाले सन् २०१५ बाट नै इरानको समर्थन रहेको हुथी बिद्रोही विरुद्ध कारबाही गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय समर्थन रहेको यमन सरकारलाई पुनः स्थापनालगायत शक्तिमा ल्याउन र हुथी विद्रोहीलाई पछाडि पार्न साउदी अरेबियाले सन् २०१५ बाट यमन सरकारलाई सहयोग गर्दै आएको छ । तर साउदी अरेबियाआवद्ध संयुक्त सेनामाथि हुथी विद्रोहीविरुद्धको कारबाहीको क्रममा निर्दोष सर्वसाधारणको हत्या भएको आरोप लाग्दै आएको छ ।
सन् २०१५ बाट सुरु भएको यस द्वन्द्वमा परी १० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । साथै संयुक्त राष्ट्रसंघले यमनमा विश्वमै अत्यन्त खराब मानवीय द्वन्द्व जारी रहेको बताएको छ ।

साभार- rss