खेलकुद

आइशा र केशरी फाइनलमा

मंगलवार, १९ असार २०७५

लक्ष्मणकुमार श्रेष्ठ स्मृति पाँचौँ राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताअन्तर्गत महिला व्यक्तिगत रिकर्भमा नेपाल आर्मीकी आइशा तामाङ र कास्की आर्चरी क्लब पोखराकी केशरी आले मगर आज फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा आज भएको खेलमा आइशाले आर्मीकै ज्ञानु अवालेलाई ६–४ तथा केशरीले कास्कीकी रोजिना थापालाई ६–२ ले पराजित गरे । सो स्पर्धाको पुरुषमा आर्मीका रोशन नगरकोटीले कास्कीका देउबहादुर रोका तथा ट्रेडिशनल आर्चरी क्लब, काठमाडौँका लक्ष्मण पुनले आर्मीका प्रेम विकलाई ६–२ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष व्यक्तिगत स्ट्यान्डर्डमा आर्मीका प्रवीण गुरुङले आर्मीकै पवन राईलाई ६–० तथा ट्रेडिशनलका प्रेमकुमार भट्टचनले बेस्ट आर्चरी क्लब, काठमाडौंका नवीनवीर बस्नेतलाई ६–२ ले पाखा लगाउँदै फाइनल यात्रा तय गरे ।

उक्त ष्पर्धाको महिलामा अर्चना थापा मगरले विष्णुमाया लिम्बू तथा सेलिना गुरुङले शर्मिला गुरुङलाई समान ६–२ को नतिजामा निराश पार्दै फाइनलमा स्थान बनाए । सेमिफाइनल खेल्ने चारै जना अन्नपूर्ण आर्चरी क्लबका हुन् ।

पुरुष व्यक्तिगत कम्पाउन्डमा वेस्टका प्रजीत अग्रवालले स्वयम्भू आर्चरी क्लब, काठमाडौँका रमेश भट्टचन तथा राजधानी आर्चरी क्लब, काठमाडौँका सनातन मल्लले अन्नपूर्णका किशोरकुमार गुरुङलाई निराश पार्दै उपाधि भिडन्त पक्का गरे ।

पुरुष रिकर्भ टिममा आर्मी बेस्टलाई ६–२ तथा ट्रेडिशनल कास्की आर्चरीलाई ६–१ ले पन्छयाउँदै फाइनलमा पुगे । पुरुष स्ट्यान्डर्ड टिममा अन्नपूर्णले कास्कीलाई ६–२ तथा वेस्टले ट्रेडिशनललाई ६–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरे ।प्रतियोगिताको राखेपका सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गर्नुभएको थियो । नेपाल आर्चरी संघको आयोजनामा भइरहेको दुईदिने प्रतियोगितामा ५५ खेलाडीले सात स्पर्धामा प्रतिष्पर्धा गरिरहेका छन् ।

साभार- रासस