फोटो फिचर

जनता माथि के.पी ओली सरकारको ज्याजति विरुद्ध सडकमा कडा रुपमा उत्रियो नेपाल तरुण दल

अनलाइन नेपालगंज

बिहीबार, १४ असार २०७५

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल पछिल्लो समय निकै नै जोश जाँगरको साथ अगाडी बढेको देखिन्छ | देशको हरेक कुनामा तरुण प्रशिक्षणको आयोजना गरेर तरुण युवाहरुमा उत्साह छरेको नेपाल तरुण दल अब के.पी ओली सरकारको विरुद्ध सडक अनोलनमा उत्रने तयारीमा रहेको छ | यसको सुरुवात भने बुधबार रत्नपार्क स्थित शान्ति वाटिकामा विरोध सभाको आयोजना गर्दै भईसकेको छ | अबको दिन के हुन्छ भन्न सक्ने अवस्था छैन किन भने जुन दृश्य बुधबारको तरुण दलको विरोध सभामा देखियो यसले अबको दिन भयानक परिणाम तर्फ लैजाने संकेत दिएको छ |

वर्तमान निरंकुश के.पी ओली सरकारको लोकतन्त्र विरोधी क्रियाकलाप चर्को मूल्यबृद्धि, अदालत माथिको हस्तक्षेप, प्रेस स्वतन्त्रता माथिको आक्रमण र भ्रष्टाचारको विरुद्धमा नेपाल तरुण दलले बुधबार विरोध सभा गरेको हो | नेपाल तरुण दल केन्द्रीय अध्यक्ष जित जंग बस्नेतको नेतृत्वमा हजारौको संख्यामा नेपाल तरुण दल कार्यकर्ताहरुको उक्त विरोध सभामा उपस्थिति रहेको थियो | जिल्ला जिल्लाबाट पनि सहभागिताको लागि तरुण युवाहरु त्यहाँ आएको देखियो | यस्तै उक्त विरोध सभामा प्रमुख अतिथिको रुपमा भने नेपाली कांग्रेसका केन्द्रीय सदस्य बीर बहादुर बलायर उपस्थिति हुनु भएको थियो |

विरोध सभामा हेर्न लाएका ठुलो संख्यामा तरुण युवाहरुको उपस्थिति रहेको थियो | सबैले वर्तमान के.पी ओली सरकारको कामको विरुद्धमा चर्को नाराबाजी गरेका थिए | यस्तै उक्त भेलामा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भुपेन्द्र जंग शाही र कोषाध्यक्ष विद्वान गुरुङले आफ्नो दरिलो मन्तव्य पेश गर्नुभएको थियो | यी व्यक्तिहरुले मन्तव्य राख्दै गर्दा सभामा फरक किसिमको रौनक छाएको थियो | तर विशेष सबैको ध्यान भने तरुण दल केन्द्रीय अध्यक्ष जित जंग बस्नेतको बोलितिर बढी केन्द्रित देखियो |


यस्तै भेलालाई सम्बोधन गर्दै जनताले दिएको म्यान्डेट विपरित वर्तमान सरकारले संविधानको कार्यान्वयन भन्दा त्यसको अपमान गर्दै जनताको अधिकार कुण्ठित गर्न उद्धत भएको केन्द्रीय अध्यक्ष बस्नेतले उल्लेख गर्नुभएको छ | यस्तै उहाले जनतालाई आश्वासनको पोका बाँडेर चुनाव जितेको कम्युनिष्ट गठबन्धनको सरकारले दैनिक उपभोग्य वस्तुको चर्को मूल्यबृद्धि गरेर जनताको मतको दुरुपयोग गरेको आरोप लगाउनु भएको छ । त्यस्तै उहाले सरकारको प्रमुख दायित्व संविधानको कार्यान्वयन तथा कानुनी शासनको प्रत्याभूति गर्नुपर्नेमा त्यस विपरित शक्ति सन्तुलनको सिद्धान्त विपरित स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरी अदालतमा राजनीतिकरण गर्न लागेको आरोप समेत के.पी ओली सरकार माथि लगाउनु भयो | त्यसै गरी उहाले दुई तिहाई बहुमतको आडमा के.पी ओली सरकारले स्वतन्त्र प्रेस माथि अंकुश लगाएर नागरिकको सुशुचित हुन पाउने अधिकारमाथि अतिक्रमण गर्न लागेको भन्दै त्यसको विरोधमा आम जनता र प्रेस स्वतन्त्रताका पक्षधरहरु सजग हुनु पर्ने पनि बताउनु भयो | सुशासन र भ्रष्टाचारमा सून्य सहनशिलताको रटान दिने सरकार र त्यसको नेतृत्व नै सबै क्षेत्रमा राजनीतिक हस्तक्षेप गर्दै भ्रष्टाचार जन्य गतिविधिमा क्रियाशिल हुँदै मुलुकको समग्र राजनीतिक र आर्थिक स्थिति तहस नहस गर्न लागेको उहाको दाबी रहेको थियो।

सरकारले पटक पटक पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्दा ढुवानी खर्च बढेपछि बजार भाउ आकासिएर सर्वसाधारण जनता महंगीको मारमा पर्दा पनि सरकार र त्यसको नेतृत्वले उखान टुक्का गर्दै मूल्यबृद्धिको बचाउ मात्र नभइ कालाबजारी र तस्करको संरक्षणमा लागेको आरोप पनि लगाउनुभयो | लोकतन्त्रको रक्षा र जनताको अधिकारीका लागि कम्युनिष्टहरुबाट सँधै खतरा रहेको दाबी गर्दै सदनदेखि सडकसम्म रहेका कम्युनिष्टहरु एक भएभने पनि उनीहरुको अलोकतान्त्रिक गतिविधि विरुद्ध आफूहरु लड्न तयार रहेको पनि उनको उद्घोष थियो। यस्तै उहाले आजको विरोध सभा नेपाल तरुण दलले चाहे भने के सम्म गर्न सक्छ भन्ने प्रमाणीकरणको लागि रहेको र आज यो साबित समेत भएको उहाले प्रष्ट पार्नुभएको छ | बेलैमा गल्ति सुधार नगरे के.पी ओली सरकारलाई तरुण दलले सिंहदरवार देखि टुडिखेल लिएर आउने चेतावनी समेत दिनुभएको छ | यस्तै उहाले सबै तरुण युवाहरुलाई भोलि दिनको अझ बढी संगर्ष गर्ने दिन आउदै गरेको हुँदा सबै तह र तप्काबाट तम्तयार भएर बस्न निर्देशन समेत दिनुभएको छ | विरोध सभा भईरहँदा रत्नपार्कमा एक किसिमको छुट्टै माहोल बन्यो | हजारौको संख्यामा आएका तरुण युवाहरुले के.पी ओली सरकारको नालायकीपनको विरुद्धमा कडा रुपले नारा पनि लगाए | सबैको आँखामा एक किसिमको आक्रोश देखिन्थ्यो |