मुख्य खबर

कर्णाली प्रदेशमा ‘हेल्लो मुख्यमन्त्री’ टेलिफोन सेवा सुरू

अनलाइन नेपालगंज

बिहीबार, २४ जेष्ठ २०७५

कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहिबारदेखि ‘हेल्लो मुख्यमन्त्री’ टेलिफोन सेवा सुरू गरेको छ।

जनताको गुनासो तथा सल्लाह, सुझावहरू टेलिफोनमार्फत् सिधा मुख्यमन्त्रीले सुन्ने व्यवस्थाका लागि ‘हेल्लो मुख्यमन्त्री’ सुरू गरिएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

वस्तुगत योजनाहरू बनाउन सरकारले जनताको गुनासो, सल्लाह, सुझाव तथा समस्याहरू बुझ्न जरुरी रहेकोले त्यसका लागि उक्त सेवाले सहयोग गर्ने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए।

सुशासन कायम राख्न पनि ‘हेल्लो मुख्यमन्त्री’ सेवाले सहजता पुर्‍याउने भन्दै मुख्यमन्त्री शाहीले जनता र नेताहरूबीचको सम्बन्ध नजिक बनाउने बताए।

सरकारले बनाउने योजनाहरूका लागि जनताको सुझाव महत्त्वपूर्ण हुने उनको भनाइ छ। प्राकृतिक विपद्लगायतका जनताका अन्य थुप्रै समस्या थाहा पाउनका लागि पनि उक्त सुविधा सञ्चालन गरिएको शाहीले जानकारी दिए ।

‘हेल्लो मुख्यमन्त्री’ सेवाका लागि नागरिकले आफ्नो टेलिफोनबाट १०९६ नम्बरमा फोन गर्नुपर्ने छ।

उक्त नम्बरमा फोन गरी सर्वसाधारणले आफ्नो सुझाव तथा समस्या बताउनुका साथै मौखिक रूपमा उजुरी समेत दिन सक्नेछन्।

यसैगरी, कर्णाली प्रदेश सरकाले आजैदेखि आफ्नो वेबसाइट समेत सुरू गरेको छ।

प्रदेशमा भए/गरेका कामहरू तथा अन्य जानकारी प्रविधिका माध्यमबाट नागरिकलाई जानकारी गराउन वेबसाइट निर्माण गरिएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए।

कर्णाली प्रदेश सरकारका गतिविधि तथा सम्बन्धित जानकारी थाहा पाउन www.karnali.gov.np मा लग इन गर्नुपर्ने छ। त्यसभित्र मुख्यमन्त्रीको कार्यालयसँगै कर्णाली प्रदेशका विभिन्न मन्त्रालयहरू तथा प्रदेशभित्रका स्थानीय तहहरूका वेबसाइट हेर्न सकिने छ।