गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले यातायात क्षेत्रको सिन्डिकेट तोड्ने भनेर सरकारले निर्णय गरिसकेकाले यसबाट पछि नहट्ने बताउनु भएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता सुवेदीले सरकारले गरेको निर्णय कार्यान्वय गर्नु आफूहरुको कर्तव्य भएकाले पछि हट्ने अवस्था नरहेको बताउनु भएको हो ।अत्यावश्यक सेवा क्षेत्रमा हड्ताल गर्न नपाइने र यस सम्बन्धमा सुचनासमेत जारी भइसकेको अवस्थामा यातायात व्यवायीले हिजो सवारी साधन नचलाएका कारण सरकारले नियमअनुसार व्यवसायीलाई कारबाही प्रक्रिया अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।
आम नागरिक, संचारमाध्यमलगायतले पनि सरकारको कदमलाई समर्थन गरेकाले सिन्डिकेटपक्षधर यातायात व्यवसायी, समिति र पदाधिकारीलाई कानुनी दायरामा ल्याउँने सुवेदीको भनाई छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला कानुनअनुसार नै पक्राउ परेको सुवेदीको भनाई छ ।हिजो पक्राउ परेका व्यवसायीलाई यतिकै नछोड्ने भन्दै उहाँले कानुनको उल्लङ्घन गरेकाले कारबाही गरिने बताउनु भयो । यद्यपी यातायात सेवा सुचारु गरेर वार्तामा आए ढोका खुला नै रहेको सुवेदीले भनाई छ ।