राजनिति

भव्यताका साथ सम्पन्न भयो भैरहवा, रुपन्देहीमा प्रदेश नं ५ को तरुणदल प्रशिक्षण भेला

अनलाइन नेपालगंज

मंगलवार, ११ बैशाख २०७५

अनलाईननेपालगंज डटकम :
बैशाख ९ गते देखि भैरहवा, रुपन्देहीमा सुरु भएको तरुणदल प्रशिक्षण भेलाको हिजो समापन भएको छ । नेपाल तरुणदल प्रदेश स्तरीय प्रशिक्षण भेला अनुरुप प्रदेश नं ५ अन्तर्गत भैरहवा, रुपन्देहीमा तरुणदल प्रशिक्षण भेलाको आयोजना गरिएको थियो । नेपाल तरुणदल केन्द्रीय समितिको आयोजना र तरुणदल जिल्ला समिति रुपन्देहीको संयोजनमा भएको भेलाको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतको उपस्थिति रहेको थियो ।



निकै भव्य तरिकाले भएको समापन कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महत र नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो । उक्त प्रशिक्षण भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महत, नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँड, नेपाल तरुणदलका निवर्तमान अध्यक्ष उदय शमशेर राणा, तरुणदल पुर्व अध्यक्ष विनोद कायस्थ लगायतले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।


समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले तरुणदलको यो अभियान निकै प्रभावकारी देखिएको र कांग्रेस अनुशासित र बलियो बनाउन यसले ठुलो भूमिका निर्वाह गर्ने बताउनुभयो । यस्तै उहाले तरुणदल नेपाली कांग्रेसको प्रमुख शक्ति समेत भएको हुँदा कांग्रेसको रक्षाको लागि तरुणदलले महत्वोपूर्ण भूमिका खेल्नु पर्ने समेत बताउनुभयो । उहा संगै अरु उपस्थित बिशेष व्यक्तिहरुको भनाई समेत त्यही नै रहेको थियो ।


यस्तै कार्यक्रमको समापन कार्यक्रममा बोल्दै नेपाली तरुणदलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले प्रदेश स्तरीय मात्र नभएर गाउँ स्तरीय र टोल स्तरीय भेला समेत आवश्यक भएको हुँदा अब छिटो भन्दा छिटो तरुणदल प्रशिक्षण भेला देशको हरेक कुनाकुनामा आयोजना गर्न तरुणदल जिल्ला समितिहरुलाई निर्देशन दिनुभएको छ । यस्तै उहाले कुनै गुट र उपगुटको पछि नलागी एकजुट भएर काम गर्न पनि निर्देशन दिनुभएको छ । त्यसै गरि उहाले पार्टीले पनि तरुणदल प्रति गम्भीर हिसाबले सोच्नु पर्ने र माथिल्लो स्तर देखि नै नेताहरुले पार्टीलाई अनुशासित र मजबुत बनाउनु पर्ने बताउनुभएको छ ।


अब यस लगतै बैशाख १२ र १३ गते प्रदेश नं ७ अन्तर्गत धनगडी, डडेल्धुरामा तरुणदल प्रशिक्षण भेलाको आयोजना हुदैछ ।