राजनिति

अब हरेक जनताको साथमा नेपाल तरुणदल : तरुणदल केन्द्रीय अध्यक्ष जित जंग बस्नेत

अनलाइन नेपालगंज

शुक्रबार, ७ बैशाख २०७५

अनलाईननेपालगंज डटकम :
नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले अब हरेक जनताको साथमा नेपाल तरुणदल हुने बताउनुभएको छ । अहिलेको केपी ओलीको सरकारले देश र जनताको विरुद्धमा काम गर्न सुरु गरेको र संविधान मिचेर काम गरेको भन्दै अबको दिनमा अहिलेको सरकारबाट देश र जनताको अहितमा काम हुने प्रयास भए नेपाल तरुणदल त्यसको विरुद्ध सडकबाट अगाडी बढ्ने बताउनु भएको छ ।


प्रदेश नं ४ अन्तर्गत कुश्मा, पर्वतमा हिजोबाट सुरु भएको तरुणदल प्रशिक्षण भेलाको समापन समारोहमा बोल्दै उहाले केपी ओली सरकारलाई चुनौती दिदै अबको दिन सोचेर सम्झेर संविधानको दायरामा रहेर काम गर्न सुझाब दिदै यदि देश र जनताको माथि आँच आउने काम अहिलेको सरकारबाट भए कडा आन्दोलनको साथ अगाडी बढ्ने चेतावनी समेत दिनुभएको छ ।


प्रशिक्षण भेलाको समापन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ र नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमको समापन निकै भव्यता साथ भएको थियो । समापन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले नेपाल तरुणदलको यस प्रदेश स्तरीय प्रशिक्षण भेलाको प्रशंसा समेत गर्नुभएको थियो ।


यस्तै उहाले यो क्रम अझ जोडतोडले अगाडी बढाउनु पर्ने र यसका लागि पार्टीले समेत गम्भीर रुपले ध्यानदिनु पर्ने उल्लेख गर्नुभयो ।त्यसै गरि उहाले कांग्रेस हारको समिक्षा गर्दै अबको कांग्रेस बलियो र निकै सभ्य कांग्रेस हुन जरुरी रहेको र यसको लागि नेपाल तरुणदल र अरु भातृ संस्थाहरुको सहयोग र भूमिका महत्वोपूर्ण रहेको समेत बताउनुभयो ।


यस्तै कार्यक्रममा थप कुरा राख्दै नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले पार्टीका हरेक नेताहरु एकताबद्ध भएर अगाडी बढ्नु जरुरी रहेको बताउनुभयो । यस्तै उहाले गाउँ गाउँ देखि गुट उपगुट हटेर जानु पर्छ र यसको सुरुवात माथिल्लो तह देखि हुनुपर्ने बताउनुभयो । यस्तै उहाले तरुणदल जिल्ला कार्यसमितिलाई हरेक कुना कुनामा पुगेर गुट उपगुटलाई अन्त्य गरेर बलियो संगठन विस्तार गर्न निर्देशन समेत दिनुभयो ।