फिचर

यसरी सम्पन्न भयो तरुणदलको राष्ट्रिय प्रशिक्षण भेला, गुट उपगुटतिर नलागी काम गर्न अध्यक्ष बस्नेतको निर्देशन

अनलाइन नेपालगंज

शनिबार, २६ फाल्गुन २०७४

अनलाईननेपालगंज डटकम :
निर्वाचनमा ठुलो पराजय भोगेको नेपाली कांग्रेस पार्टीको यति बेला धेरै तर्फबाट विभिन्न प्रतिक्रिया आईरहेको बेला कांग्रेस भातृ संगठन नेपाल तरुणदलले भने पहिलो पटक ऐतिहासिक राष्ट्रिय जिल्ला अध्यक्ष र विदेश शाखा अध्यक्षहरुको प्रशिक्षण भेला नगरकोट भक्तपुरमा भब्य तरिकाले सम्पन्न गरेको छ । नेपाल तरुणदल केन्द्रीय अध्यक्ष जित जंग बस्नेतको अध्यक्षतामा फाल्गुन २२,२३ र २४ गते नगरकोटमा उक्त भेलाको आयोजना गरिएको थियो । भेलामा करिब ६५ जिल्ला भन्दा बढी तरुणदल जिल्ला अध्यक्षहरुको उपस्थिति रहेको थियो । ३ दिनको उक्त भेलामा उपस्थित सबै जिल्ला अध्यक्षहरुले तरुणदल जिल्ला समितिलाई जिल्लामा के कस्तो समस्या झेल्नु परेको विवरण बुझाएका थिए । यस्तै तरुणदल केन्द्रीय समिति र पार्टीले पनि यस विषयमा गम्भीर तरिकाले सोचेर आफुहरुलाई काम गर्न सहज बनाईदिनु पर्ने उपस्थित जिल्ला अध्यक्षहरुको माग रहेको थियो ।

प्रशिक्षण भेलामा सबै जिल्ला अध्यक्षहरुलाई नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड, महेश दाहाल, नविन्द्र राज जोशी, कृष्ण प्रसाद सिटौला, प्रदिप गिरी लगाएतका नेताहरुले प्रशिक्षण दिएका थिए । प्रशिक्षणको क्रममा नेताहरुले सबै जिल्ला अध्यक्षहरुलाई अबको दिन पार्टीलाई तरुणदलको आवश्यकता परेको हुनाले तन र मनले संगठन मजबुत बनाउन लाग्नु पर्ने निर्देशन दिएका थिए । यस्तै नेताहरुले आगामी दिनमा नेपाल तरुणदलको रणनीति के कस्तो रहनु पर्दछ भन्ने विषयमा समेत सल्लहा सुझाब नेताहरुले जिल्ला अध्यक्ष र केन्द्रीय समितिलाई दिएका थिए । उक्त जिल्ला अध्यक्षहरुको प्रशिक्षण भेलाको २३ गतेका दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा नेपाली कांग्रेस अधिकांश नेता तथा केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस्तै सभापति शेरबहादुर देउवाले पार्टीको नाम खराब गर्ने र चुनाव अन्तरघात गर्ने कसैलाई पनि नछोड्ने र त्यस्ता व्यक्तिहरुलाई छिट्टै कारवाहीको घेरामा लिएर आउने बताउनु भयो । यस्तै उहाले तरुणहरुको योगदान पहिले देखि नै नेपाल कांग्रेसमा धेरै रहेको र तरुणहरुको आवश्यकता पनि पार्टीलाई धेरै नै रहेको उहाले उल्लेख गर्नुभयो । यस्तै आगामी दिनमा कुनै गुट उपगुट नराखी संगठनलाई बलियो बनाउदै लैजान पनि उहाले सबै जिल्ला अध्यक्ष र केन्द्रीय समितिलाई निर्देशन दिनुभयो । यस्तै नेता रामचन्द्र पौडेलले पनि यति बेला सबै एकजुट हुन जरुरी रहेको बताउनुभएको छ । को कस्तो भन्दा पनि हामी सबै नेपाली कांग्रेसको र नेपाली कांग्रेस हाम्रो भन्ने सोचले अगाडी बढ्न यति बेला अत्ति आवश्यक रहेको उहाको भनाई रहेको थियो । यस्तै कार्यक्रमको समापन भने २४ गते नेता रामचन्द्र पौडेलले गर्नुभएको थियो ।

यस्तै उहाले प्रशिक्षण दिने सबै नेता तथा प्रशिक्षण लिने सबै जिल्ला अध्यक्षहरुलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो । अब लगतै यहि चैत्र २५ गते देखि नेपाल तरुणदल केन्द्रीय समितिले प्रदेश भेला र प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । नेपाल तरुणदल केन्द्रीय अध्यक्ष जित जंग बस्नेतको अनुसार सबै प्रदेशमा प्रशिक्षण भेला हुनेछ । यसको लागि उहाले सबै जिल्ला अध्यक्षहरुलाई निर्देशन समेत दिईसक्नु भएको छ । यस्तै उहाले कुनै गुट उपगुटतिर नसोची नलागी कुनै नेता तथा अरु निकायको कुरामा ध्यान नदिई आफ्नो हिसाबले संगठन विस्तार गर्न र मजबुत बनाउन निर्देशन समेत दिनुभएको छ । नेपाली कांग्रेस पार्टीलाई फेरी माथि उठाउन र बलियो बनाउन र जनताको मन मस्तिष्कमा पुराउने जिम्मेवारी अब नेपाल तरुणदलको काधमा रहेको पनि उहाले उल्लेख गर्नुभयो ।

यस्तै उक्त भेलाको उद्घाटन समारोहको दिन नेपाल तरुणदल केन्द्रीय समितिले यसपटकको निर्वाचनमा कांग्रेसबाट सांसद बनेका ब्यक्तिहरुलाई सम्मान पनि गरेको थियो । नेपाली कांग्रेसको निर्वाचनमा ठुलो पराजयको पश्चात र अरु भातृ संगठन सुस्ताएको बेला नेपाल तरुणदलले गरेको यो ऐतिहासिक भेलालाई निकै अर्थपूर्ण तरिकाले हेरिएको छ । केही युवा नेताको नाम सस्तो खालको प्रचारबाजी मात्र गरिरहेको बेला तरुण दलले देशभरिकै जिल्ला अध्यक्षहरु बोलाएर तीन दिनसम्म राष्ट्रिय भेला गर्नु निकै नै महत्त्वपूर्ण र एेतिहासिक कार्य भएको भनेर नेपाली कांग्रेस र लोकतन्त्र प्रेमिहरु सबैले तरुण दलको खुलेर प्रशंसा गरेका छन् । यस्तै उक्त भेलामै तरुणदल केन्द्रीय कार्यसमितिले आगामी दिनको रणनीतिको केहि निर्णयहरु समेत गरेको छ ।