मुख्य खबर

पाकिस्तानी प्रधानमन्त्री नेपालमा राष्ट्रपति र दाहाललाई भेट्ने देउवासंग नभेट्ने !

अनलाइन नेपालगंज

मंगलवार, २२ फाल्गुन २०७४

काठमाडौं,२२ फागुन,। फाल्गुनको अन्तिम साता हुनै लाग्दा नेपाल आइपुगेका पाकिस्तानी प्रधानमन्त्री शाहीद अब्बासीको सम्मानमा काठमाडौमा सरकारले सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’ दिएको छ ।

सोमबार अपरान्ह साढे ५ बजेपछि नेपाली सेनाको सैन्य टुकडीबाट गार्ड अफ अनरको सम्मान दिइएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । टुँडिखेलमा गार्ड अफ अनरको सम्मान पाउने पहिलो विदेशी सरकार प्रमुख पाकिस्तानी प्रधानमन्त्री अब्बासी बने पछि भारतको टाउको दुख्न सुरु भएको छ ।

यसअघि विदेशी उच्चस्तरीय पाहुनालाई विमानस्थलमै गार्ड अफ अनर दिने प्रचलन थियो, तर केपी ओली नेतृत्वको सरकारले टुँडिखेलमा सम्मान दिने प्रचलन सुरु गरे पछि आम सर्बसाधारण लाई सास्ती भएको बताइएको छ । गार्ड अफ अनर दिए लगतै राजधानीका सडकमा गाडी र पैदल यात्रुलाई आवतजावतमा समस्या परेको बताइएको छ ।

यसअघि टुँडिखेलमा अब्बासीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका हुन् । प्रधानमन्त्री अब्बासी दुई दिने नेपाल भ्रमणका क्रममा सोमबार काठमाडौं आएका हुन् । पाकिस्तानी प्रधानमन्त्री अब्बासीले मंगलबार स्वदेश फर्कनुपूर्व राष्ट्रपतिसँग र पुष्पकमल दाहाल संग शिष्टाचार भेट गर्ने भएका छन् तर निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवा संग नभेट्ने कार्यक्रम रहेको छ ।