मुख्य खबर

दाङमा चर्कियो आन्दोलन

अनलाइन नेपालगंज

बिहीबार, ४ माघ २०७४

प्रदेश नं. ५ को अस्थायी राजधानी दाङलाई नतोकेको विरोधमा बिहिबार पनि दाङ बन्द छ।

जिल्लामा बिहिबार पनि बिहानैदेखि यातायात, बजार, कलकारखाना, शैक्षिक संस्था सबै ठप्प छन्। पूर्वपश्चिम राजमार्गमा समेत सवारी साधन सञ्चालनमा आउन सकेका छैनन्।

आन्दोलनमा सर्वसाधारण बाहेक कुनैपनि राजनीतिक दलका नेताहरू सडकमा देखिएका छैनन्। यसअघि पनि नेपाली कांग्रेस र नेविसंघका युवाहरूले दाङमा राजधानी माग गर्दै बन्द आह्वान गरेका थिए।

दाङबाट निर्वाचित अधिकांश जनप्रतिनिधिको मोबाइल अफ छ। दाङको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा माओवादीका नेता कृष्णबहादुर महरा र २ को २ बाट निर्वाचित प्रदेशसभा सदस्य एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाङलाई प्रदेश राजधानी नतोकेकोमा विरोध जनाएका छन्। महराले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले निर्णय तुरुन्त सच्याउनुपर्ने माग गरेका छन्। नेता पोखरेलले सरकारको निर्णयलाई विवेकहिन भनेका छन्। जिल्लामा बजार, यातायात सबै ठप्प छ। घोराहीमा सर्वदलीय सर्वपक्षीय बैठक बसिरहेको छ । बैठकले के गर्ने? भन्ने तय गर्नेछ ।

यसैबीच दाङ राजधानी सरोकार समितिले भने विभिन्न निर्णय गर्दै आन्दोलन थप चर्काउने निर्णय गरेको छ। बुधबार राति बसेको समितिको बैठकले माघ ३ गतेलाई कालो दिन घोषणा गर्दै घर/ घरमा कालो झण्डा गाड्न आह्वान गरेको छ।

अस्पताल बाहेक सबै सरकारी कार्यालयहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। होटल लगायत बजार बन्द गर्ने, एम्बुलेन्समा बिरामी छ/ छैन त्यसको एकिन गरेर मात्रै चल्न दिने, अटो, रिक्साहरू समेत बन्द सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

यसका साथै, आसन्न राष्ट्रिय सभाको चुनावलाई प्रभावित पार्ने गरि जिल्लाका सबै जनप्रतिनिधिहरूलाई बन्धक बनाउने, सम्पूर्ण नेता तथा सरकारका प्रतिनिधिहरूलाई जिल्लामा प्रवेश निषेध गर्ने, माघ २४ मा दाङमा हुन लागेको ५ नं प्रदेशको राष्ट्रिय सभा चुनाव हुन नदिने, कुनैपनि प्रकारको कर नतिर्ने , राजमार्ग केन्द्रीत आन्दोलनलाई सशक्त बनाउने लगायतका कडा आन्दोलनको स्वरुप तय गरेको दाङ राजधानी सरोकार समितिका सदस्य सचिव सविन प्रियासनले सेतोपाटीलाई बताए।

राजधानी माग गर्दै मंगलबारदेखि भएको दाङ बन्द र आमहड्तालका कारण दाङको समान्य जनजीवन भने प्रभावित बन्दै गएको छ।