स्वास्थ्य

भाइरल ज्वरोबाट बच्‍ने उपाय

अनलाइन नेपालगंज

बिहीबार, २० पुष २०७४

सामान्य भाषामा रुघाखोकी भनिए पनि मेडिकल भाषामा भाइरल ज्वरो वा भाइरल फ्लु भनिने संक्रमणका कारण चिसो बढेसँगै बिरामीको संख्या बढेको देखिन्छ।

यो मुख्यगरी राइनो (२५–८० प्रतिशत) भाइरसले गराउँछ। कोरोना भइरस (१०–२० प्रतिशत), इन्फ्लेजा भाइरस (१०–१५ प्रतिशत) र एडिनो भाइरस (५ प्रतिशत) पनि भाइरल फ्लुको कारण हो। भाइरसले धेरैजसो माथिल्लो श्वासप्रश्वास नली (नाकदेखि घाँटीसम्म) संक्रमण गराउँछ। शरीरमा भाइरस छिरेको १–२ दिनमा लक्षण देखा पर्न थाल्छन् र २–४ दिनमा तिनले उग्र रूप लिन्छन् भने सामान्यतः ७–११ दिनसम्म आफैं हराएर जान्छन् वा भनौं हाम्रो शरीरको रोग प्रतिरोधात्मक शक्तिले तिनलाई नष्ट गरिदिन्छन्।

लक्षण र घरेलु उपचार

सामान्य ज्वरो आउनु (१०१ डिग्रीभन्दा कम), पातलो सिँगान बग्नु, लगातार हाँछ्यु आउनु, नाक बन्द हुनु, खोकी लाग्नु, आवाज धोत्रो हुनु, टाउको दुख्नु, घाँटी दुख्नु, जिउ आलस्य हुनु यसका लक्षण हुन्।

यी लक्षण देखा परेमा घरमै सामान्य उपचार गर्दा हुन्छ। जस्तैः तातोपानीमा मह, अदुवा, कागती या तुलसी पत्ता राखेर दिनमा ४–५ गिलास पिउने गर्दा यसमा राहत मिल्छ। यस्तो बेला प्रशस्त दाल, सुप र गेडागुडीको रस पिउनु लाभदायक हुन्छ। त्यस्तै दिनमा दुईपटक सादा उमालेको पानीको वाफ १० देखि १५ मिनेटसम्म लिने गर्दा वाफकै कारण भाइरस बढ्ने दर घट्छ र व्यक्तिलाई राहत मिल्छ। एक गिलास मनतातो पानीमा आधा चम्चा नुन राखेर दिनमा ३–४ पटक घाँटी कुल्ला गर्दा पनि त्यो लाभदायक हुन्छ।

यसका साथै भाइरल ज्वरो आउँदा २–३ दिन घरमै आराम गर्ने, फ्रिजमा राखेको चिसो कुरा नखाने, सिटामोल (पारासिटामोल) दिनमा ३–४ पटक (६ घन्टाको फरकमा) खाने गर्दा ज्वरो कम हुन्छ र दुखाइ कम गर्छ। घरेलु उपचार गरेको ५–६ दिनसम्म पनि स्वास्थ्यमा सुधार नआउँदा स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह लिनु उचित हुन्छ।

६ दिनसम्म पनि अवस्था नसुधे्र भाइरस सक्रमणका कारण शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति कमजोर हुँदै जान्छ र त्यतिबेला ब्याक्टेरियाले आक्रमण गर्न सक्छ, जसलाई सुपर इनफेक्सन भनिन्छ र जटिलता आउन सक्छन्। जस्तैः पिनास (साइनुसाइटिस), टन्सिलको संक्रमण (टन्सिलाइटिस), कान पाक्ने समस्या (ओटाइटिस मिडिया), फोक्सोको संक्रमण (न्युमोनिया), फारान्जाइटिस र क्रोनिक ब्रोन्काइटिस। २. कस्तो अवस्थामा उपचार ?

कस्तो अवस्थामा उपचार  

६ दिनसम्म भाइरल ज्वरो आएमा आवश्यक जाँच र परीक्षण गरेर आवश्यकताअनुसार एन्टिबायोटिक र अरू औषधि सेवन गर्नुपर्छ। वस्यक मानिसमा भन्दा बच्चा र वृद्धवृद्धा (०–५ वर्षसम्म र ५० वर्षमाथिका) मा रोग प्रतिरोधात्मक शक्ति कम हुने भएकाले उनीहरूमा भाइरसले छिटो आक्रमण गर्न सक्छ र जटिलता हुने सम्भावना धेरै हुन्छ। पाँच वर्षमुनिका बच्चालाई सामान्य रुघाखोकी मात्र लागे पनि समस्या जटिल बन्न सक्छ। त्यसैले आमाबाले विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ। यस्तोमा विशेषतः बच्चाको टाउको र हातखुट्टा न्यानो राख्ने, आमाको दूध पटक–पटक चुसाउने (२–३ घन्टाको फरकम) ६ महिनामाथिका बच्चालाई प्रशस्त तातो झोल कुरा खुवाउने गर्नुपर्छ। तर ०–५ वर्षसम्मका बच्चाले छिटो–छिटो सास फेरेमा, नाक फुलाएर सास फेरेमा, कोखा हानेमा, राम्ररी खान छोडेमा, बच्चा सुस्त हुँदै गएमा, झिँजिने, रुने र नखेल्ने गरेमा स्वास्थ्य संस्था वा चिकित्सककहाँ लगिहाल्नुपर्छ।

भाइरल फ्लु सरुवा रोग हो। अरूबाट आफूलाई यो सर्न नदिन वा अरूलाई सर्न नदिन हात राम्रोसँग साबुनपानीले धुनुपर्छ। नाक र आँखा हातले चलाउनु हुन्न। सिंगान र खकार जथाभागी फाल्नुहुन्न। यस्तोमा सफा र रुमाल या पेपर प्रयोग गर्नुपर्छ। सुर्तीजन्य पदार्थ तथा जाँडरक्सी खानु हुन्न।

जनभ्रम र एन्टिबायोटिकको दुरुपयोग

भाइरल ज्वरो/फ्लुमा उपचार विधि सामान्य हुन्छ तर माथि उल्लेख गरेजस्तै जोखिम आइपर्न लागेको संकेत भएमा उपचार बढाउँदै लगिन्छ। तर कतिपय बिरामी यस्तो अवस्थामा धेरै औषधिको अपेक्षा गर्छन्। ‘डाक्टरले केही औषधि नै दिनुभएन, जाबो सिटामोल मात्र दिनुभयो’ भन्दै २–३ दिन कुर्ने धैर्य नराखी औषधिपसल/ क्लिनिकबाट आफैं गई एन्टिबायोटिक औषधि किनेर खान्छन्। त्यो पनि २–३ औषधि खाएर अलिकति कम भएपछि औषधि खानै बन्द गरिदिन्छन्। ज्वरो आउनेबित्तिकै एन्टिबायोटिक नचलाए रोग निको नै हुँदैन भन्ने धारणा छ मान्छेमा। त्यो गलत हो। कति भाइरल फ्लुका बिरामी त रुघा लागेको १–२ दिनमै औषधिपसलबाट एन्टिबायोटिक औषधि खाएर पनि अस्पताल आइपुग्छन्।

तर एन्टिबायोटिक (प्रति जैविकी) भनेको साधारणतया जीवाणु (ब्याक्टेरिया) को विरुद्ध काम गर्ने औषधि हो। यसले भाइरसले गर्ने संक्रमणमा कुनै फाइदा गर्दैन बरु अझ हानिकारक हुन सक्छ। एकातिर पैसाको नास, अर्कोतर्फ आउनसक्ने साइड इफेक्ट अनि सही मात्रा र सही समयबारे ज्ञान नभइकन त्यस्तो औषधि २–३ मात्रै खाएर ‘एन्टिबायोटिकको दुरुपयोग’ हुने गरेको छ। यसो हुँदा ‘एन्टिबायोटिक रेसिस्स्टेन्स’ हुने सम्भावना बढेर जान्छ। त्यो एन्टिबायोटिकले जुन–जुन कीटाणु/जीवाणुलाई नष्ट गर्न सक्थ्यो, भविष्यमा त्यस कीटाणुले त्यही एन्टिबायोटिकविरुद्ध प्रतिरोध शक्ति विकास गर्ने र त्यो कीटाणु मार्न त्यो एन्टिबायोटिकभन्दा माथिल्लो स्तरको एन्टिबायोटिक प्रयोग गर्नुपर्ने अवस्था नै ‘एन्टिबायोटिक रेसिस्स्टेन्स’ हो।

बिरामीहरूको भ्रम र जनचेतनाको अभावको प्रतिफल यस्तो हुन गएको हो। स्वास्थ्य क्षेत्रमा उचित/आवश्यक अनुगमन नहुनु, चिकित्सकको पुर्जीविना जथाभावी एन्टिबायोटिक किन्न पाइनु/बेच्न पाइनु, स्वास्थ्यसम्बन्धी सामान्य क्षमता भएकाले निजी क्लिनिक चलाउनु अनि सरकारी अस्पतालप्रति आम मानिसको विश्वास नहुनुका कारणले पनि यसो हुने गरेको छ। जति धेरै र कडा औषधि लेखिदियो, उति राम्रो डाक्टर ठान्ने प्रवृत्तिको कारण पनि यस्तो हुने गरेको हो।

बच्चाहरूका अभिभावक र खासगरी आमाहरूमा अर्को भ्रम भेटिने गरेको छ। त्यो हो, सामान्य रुघाखोकीमा पनि ‘वाफ लाउनैपर्छ’ भन्ने। यसअघि बिरामी पर्दा यति दिन ‘वाफ’ लगाएको, त्यसैले अहिले नि वाफ लगाउन ल्याएको भन्ने आमाहरू धेरै आउनुहुन्छ। एकचोटी वाफ लगाउन सुरु गरेपछि बानी लाग्छ, अर्कोचोटी पनि लगाउनुपर्ने हुन्छ त्यसैले ‘वाफ नलगाउने’ भन्ने आमाहरू पनि हुनुहुन्छ। लगाउनुपर्दैन भन्दा लगाउनुपर्छ भन्ने र लगाउनुपर्छ भन्दा नलगाउने भन्ने दुवै खाले धारणा नितान्त भ्रम हो।

सामान्यतः बच्चालाई लगाउने वाफमा श्वासप्रश्वासका नलीहरू खुलाइदिने औषधि मिसाएर त्यसको वाफ मास्कद्वारा सुँघाइन्छ। यस्तो वाफ श्वासप्रश्वासको खतराको संकेत देखा पर्दा वा जाँच गर्दा छातीमा घ्यार–घ्यार आवाज सुनिएका बच्चालाई सास फेर्न सजिलो होस् भनेर लगाइन्छ। छाती सफा हुँदै र संक्रमण निको हुँदै जाँदा विस्तारै वाफ बन्द गरिन्छ। कति दिनसम्म र दिनमा कतिपटकसम्म भन्ने कुरा बच्चाको अवस्थाअनुसार निर्धारण गरिन्छ।

(पुडासैनी बन्दीपुर अस्पताल तनहुँकी मेडिकल अधिकृत हुन्।)