मुख्य खबर

पेट्रोल, डिजेल, मट्टितेल, ग्यास र हवाइ इन्धनको मूल्य वृद्धि

अनलाइन नेपालगंज

मंगलवार, १८ पुष २०७४

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमको सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धन गरी सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक/एक रूपैयाँ बढाएको छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको निगमको प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए।

नयाँ मूल्यअनुसार अब पेट्रोल एक लिटरलाई १०२ रूपैयाँ पर्नेछ। डिजेल र मट्टितेलको एक लिटरको मूल्य ७९/७९ रुपैयाँ पुगेको छ। तराईका जिल्लामा भने यो मूल्यभन्दा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र पोखरा तथा दाङमा ५० पैसा कम पर्छ। दिपायल, सुर्खेत र काठमाडौंको मूल्य भने एउटै हुने निगमले जनाएको छ ।

खाना पकाउने ग्यास प्रति सिलिण्डर १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्ने हुन्छ। हवाई इन्धन आन्तरिकमा ३ रूपैयाँ बढेर ९० रुपैयाँ प्रतिलिटर पुगेको छ।

नयाँ मूल्य अनुसार अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनका पनि प्रति ब्यारेल ५० डलर बढाएर ९ सय डलर बनाइएको छ।

मूल्य समायोजन गरेपछि निगमको मासिक घाटा घटेर २६ करोड ४० लाख रुपैयाँमा झरेको निगमले जनाएको छ ।

निगमलाई अहिले पेट्रोलमा लिटरको २ रुपैयाँ ८३ पैसा नाफा छ। तर, ग्यासमा प्रतिसिलिन्डर २ सय ८ रुपैयाँ घाटा छ। डिजेलमा पनि निगमलाई २ रुपैयाँ ७१ पैसा नाफा छ। भारतीय आयल निगमले नयाँ मूल्यसूची पठाएपछि इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।