मुख्य खबर

प्रदेश ५ को आर्थिक राजधानी नेपालगन्ज

अनलाइन नेपालगंज

बिहीबार, ७ मंसिर २०७४

नेपालगन्ज, नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा वाम गठबन्धनबाट प्रदेश नं. ५ का प्रस्तावित मुख्यमन्त्री शंकर पोख्रेलले नेपालगन्जलाई आर्थिक राजधानी बनाउने प्रतिबद्धता गरेका छन् ।

संयुक्त निर्वाचन परिचालन कमिटी उद्योग व्यवसाय संगठनले नेपालगन्जमा आयोजना गरेको समृद्ध नेपाल निर्माणका लागि बृहत व्यवसायिक भेला एवं अन्तरक्रियालाई सम्बोधन गर्दै उनले राजनीतिक स्थायीत्व र स्थायी सरकारले देशको विकास गर्न सक्ने बताए ।

उनले भने, ‘हाम्रो देशमा भएका ठूल्ठूला आन्दोलन व्यवस्था फेरे पनि अवस्था फेर्न सकेन अब स्थायी सरकार बनाएर अवस्था फेर्नुपर्छ ।’

उनले अब देशको विकासका लागि जागीर होइन, उद्यमशील र आर्थिक क्रियाकलाप कै बढोत्तरी गर्नुपर्ने कुरामा जोड दिए ।

स्वास्थ्य, शिक्षा, पर्यटन, रोजगारीको हव बनाएर नेपालगन्जलाई आर्थिक विकासको राजधानी बनाउन सकिने करामा जोड दिँँदै उनले भने, ‘यहाँ योजना र सपनाका साथ आउनु पर्छ विकासको लागि आफै माहोल र रकम जुट्छ ।’

उनले प्रदेश नं. ५मा सबै भन्दा बढी लगानी अनावस्यक बस्तुमा खर्च भएको कुरा उल्लेख गर्दै योजनालाई उत्पादक क्षेत्रमा लगाउने गरी आफुले ५ वर्ष भित्रमा विकासको जग हाल्ने र बाँकी निर्माणको अभिभारा नयाँ पुस्तालाई छाड्ने उद्दघोषका साथ आफु चुनावी मैदानमा लागेको स्पष्ट परे ।

उनले भने-‘तपाईहरु बाम गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउनुहोस समग्र ५ नं. प्रदेशमा ३ महानगरपालिका सहित विभिन्न विकासका योजना र प्याकेज अनुसार नेपालगन्जलगायतका पुराना र पछाडि पारिएका स्थानको विकासको लागि कुनै कसर छाडिने छैन ।’

उनले नेपालगन्ज विश्वविद्यालय, आइटी कलेज, औद्योगिक क्षेत्र बिस्तार, सुख्खा बन्दरगाह, बहुउद्देश्यीय सभागृहको निर्माण गर्दै नेपालगन्जको विकासलाई अगाडि बढाउन सकिने बताउदै यी सबै कामहरु गर्नका लागि स्थायी सरकारको आवश्यकता पर्ने भएकोले बाम गठबन्धनलाई जिताउन अपीलसमेत गरे ।