मुख्य खबर

ध्रुवीकरणमा सहभागी हुन आग्रह गछौं : प्रकाण्ड

अनलाइन नेपालगंज

मंगलवार, ७ भाद्र २०७३

काठमाडाैँ,नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले आफ्नो पार्टीले क्रान्तिकारी ध्रुवीकरणको नेतृत्व गरेको भन्दै सो ध्रुवीकरणमा सहभागी हुन प्रचण्ड माओवादी र वैद्य माओवादीमा रहेका इमान्दार क्रान्तिकारीहरुलाई आग्रह गरेका छन् । केही दिनभित्र कम्युनिस्ट न्युक्लियसका संयोजक हेमन्तप्रकाश वली सुदर्शनको नेतृत्वमा रहेको न्युक्लियससँग आफ्नो पार्टीको एकता हुन गइरहेकोबारे जानकारीका लागि आज राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता प्रकाण्डले नयाँ पार्टीको निर्माणको २० महिनापछि आफ्नो पार्टीले क्रान्तिकारी ध्रुवीकरणको आरम्भ गरेको बताए ।

newg-358x300

‘पार्टी निर्माणको २० महिनापछि हामीले माओवादी आन्दोलनलाई नयाँ शिराबाट हाक्न क्रान्तिकारी ध्रुवीकरणको सुरु गरेका छौं ।’ प्रवक्ता प्रकाण्डले पत्रकार सम्मेलनमा भने– ‘हामी यो क्रान्तिकारी धु्रवीकरणमा सहभागी हुन विभिन्न माओवादी धारामा रहेका साथीहरुलाई अपिल गर्दछौं ।’ अहिले माओवादी आन्दोलनमा प्रचण्डको नेतृत्वमा रहेको माओवादी केन्द्र दलाल, भ्रष्ट र पतित मान्छेहरुको केन्द्र बनेको र आफ्नो पार्टीले क्रान्तिकारी नेता र कार्यकर्ताहरुलाई एकताबद्ध गर्ने धु्रवीकरणको नेतृत्व गरेको प्रवक्ता प्रकाण्डको दाबी थियो ।

क्रान्तिकारी धु्रवीकरण अभियानको घोषणा भाद्र ७ गते जमलबाट गरिने विप्लव माओवादीले जनाएको छ । सो क्रान्तिकारी घोषणा अभियानमा कम्युनिस्ट न्युक्लियसको सिंगो पार्टी, माओवादी केन्द्रका नेता सन्देश पौडेल र वैद्य माओवादीबाट इस्लाम हवालीलगायत नेताहरु पनि सहभागी हुने बताइएको छ ।