समाचार

नयाँ सरकार गठनको तयारी, सहमतीय सरकार गठन दाहालको जिम्मा

अनलाइन नेपालगंज

आईतवार, १९ असार २०७३

काठमाडाैँ ,सत्तारुढ नेकपा माओवादी केन्द्रको बैठकले नयाँ सरकार गठनको प्रयास सुरु गर्ने संकेत दिँदै सहमतीय सरकार गठनको पहल गर्ने जिम्मा अध्यक्ष दाहाललाई नै दिइएको छ ।

prachanda-dahal

माओवादी केन्द्रको केन्दीय कार्यालयको आज बसेको बैठकमा सरकारबारे छलफल भएको हो । माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारमाथि प्रश्न उठाउँदै नयाँ सरकार गठनको प्रयास सुरु गर्ने तयारी थालेको हो । माओवादीले गत बैशाखमा भएको एमाले र माओवादीबीच भएको नौ बुँदे सहमति कार्यान्वयन गर्न सरकारले ध्यान नदिएको आरोपसमेत लगाएको छ ।

मधेशी र जनजातिका मुद्दा सम्बोधन गर्ने र राष्ट्रिय सहमतिको सरकार गठनका लागि पनि पहल गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिइएको श्रोतले जनाएको छ । माओवादीले बजेट पास भएपछि दाहाललाई सत्ता हस्तान्तरण गर्ने भद्र सहमति भएको दाबी गर्दै आएको छ । यद्यपि, प्रधानमन्त्री स्वयमले भने यसलाई अस्वीकार गर्ने गरेका छन् ।

माओवादीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने र संविधान कार्यान्वयन आफ्नो प्रमुख एजेण्डा भएको भन्दै राष्ट्रिय सहमतिको सरकारमा जोड दिएको छ । माओवादीले राष्ट्रिय सहमतिको सरकार ओलीकै नेतृत्वमा बन्न सक्ने पनि बताएको छ ।