समाचार

एसएलसी दिइरहेका झन्डै ६१ जना विद्यार्थी बिरामी, झाडापखाला महामारीमा परीणत हुने संभावना

अनलाइन नेपालगंज

मंगलवार, २३ चैत्र २०७२

जाजरकोट, २३ चैत । जाजरकोटको दशेरा गाविसको वडा नं ३ स्थित जनप्रिय उच्च माविमा एसएलसी परीक्षा दिइरहेका ६१ जना विद्यार्थीको झाडापखालाको उपचार गरिएको छ ।

 

परीक्षा केन्द्रका केन्द्राध्यक्ष शेरबहादुर अधिकारीसहित चार जना शिक्षकलाई समेत झाडापखाला लागेपछि उपचारपछि स्वास्थ्य सुधार भएको अधिकारीले बताउनुभयो । यो समाचार तयार पार्दासम्म ५९ जनाको उपचार गरिएको जाजरकोटका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।

dasera jajarkot photo

दशेरा स्वास्थ्य चौकी इन्चार्ज नवीना कँडेलका अनुसार फोहर पानी खाएका कारण विद्यार्थीमा झाडापखाला सङ्क्रमण देखा परेको हो । जिल्लाको सबैभन्दा बढी विद्यार्थी दशेरा परीक्षा केन्द्रमा रहेको तर पानी नहुँदा जस्तो पायो त्यस्तै खाँदा यस्तो समस्या आएको कँडेलले बताउनुभयो ।

गाउँमा पानीको धारा नभएका कारण खोलाको पानी एक घन्टा लगाएर ड्रममा बोकेर विद्यार्थीलाई खुआउँदा यस्तो चुनौती देखिएको हो ।

झाडापखालाका बिरामीको सङ्ख्या बढ्ने हो भने औषधि पनि अभाव हुने स्वास्थ्य संस्थाले बताएको छ । यता जिल्ला स्वास्थ्य कार्यालयले थप जाँचका लागि टोली पठाउन लागेको महामारी फोकल व्यक्ति कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो । यहाँ परीक्षा दिने विद्यार्थी बस्ने र खाने कुराको अभावमा निकै समस्यामा परेको केन्द्राध्यक्ष अधिकारीले बताउनुभयो ।जिल्लाको जगतीपुर परीक्षा केन्द्रमा पनि झाडापखाला देखिएको विद्यार्थीले बताएका छन् ।