समाचार

आज १ देखि ३० लटका मोटरसाइकललाई पेट्रोल

अनलाइन नेपालगंज

बुधबार, ६ माघ २०७२

नेपाल आयल निगमले बुधबारदेखि मोटरसाइकल र स्कुटर तथा ट्याक्सीलाई पेट्रोल उपलब्ध गराउने भएको छ । निगमले बुधबार १ देखि ३० लटसम्मका मोटरसाईकल/स्कुटरलाई ५७ वटा पम्पबाट पेट्रोल बिक्री गर्दैछ ।

काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे तथा सिन्धुपाल्चोकका विभिन्न ५७ वटा पम्पबाट मोटरसाईकल/स्कुटरलाई पेट्रोल बिक्री गर्न लागिएको निगमले जनाएको छ ।

बिहान ९ बजेदेखि पेट्रोल वितरण गर्ने जनाएको निगमले नविकरण भएका ब्लु–बुक अनिवार्य लिएर जान सबैलाई आग्रह गरेको छ । मोटरसाइकल/स्कुटरले ५ लिटर पेट्रोल भर्न पाउनेछन् । ३० लटभन्दा माथि लटका मोटरसाईकल/स्कुटरलाई भने अर्को सूचना निकालेर वितरणबारे जानकारी दिने निगमले जनाएको छ ।

1661163_10153224589926426_6796692288418362696_n

यस्तै निगमले हरियो प्लेटको ट्याक्सीलाई हप्ताको २ दिन पेट्रोल उपलब्ध गराउने भएको छ । बुधबार र आइतबार ठिमीमा रहेको गृहेश्वरी फ्यूल सेन्टरबाट हरियो नम्बर प्लेटका ट्याक्सीलाई १० लिटर पेट्रोल उपलब्ध गराउने निमगले जनाएको छ ।

यस्तै निगमले भाडाका ट्याक्सीलाई सोमबार र बिहिबार जोरविजोर नम्बर प्रणालीको आधारमा पेट्रोल उपलब्ध गराउने भएको छ । यसअनुसार बिहीबार विजोर नम्बरका ट्याक्सीले नेशनल ट्रेडिङ लिमिटेड टेकु, महालक्ष्मी बसुन्धारा, इन्द्रायणी सानेपा र हलचोक फ्यूल गरी चार वटा पेट्रोल पम्पबाट पेट्रोल भर्न पाउने निगमले जनाएको छ ।