समाचार

भारतबाट पेट्रोलियम पदार्थ नआएपछि चीनको विद्युतीय सवारी सञ्चालनमा ल्याउने तयारी

अनलाइन नेपालगंज

बिहीबार, २१ आश्विन २०७२

विज्ञान तथा वातावरण मन्त्रालयका सचिव कृष्णचन्द्र पोखरेलले नेपालमा विद्युतीय सवारी सञ्चालनका लागि तयारी भइरहेको बताउनुभएको छ ।

मंगलबार बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै सचिव पोखरेलले पेट्रालियमको विकल्पमा सरकारले विद्युतीय सवारी सञ्चालनको तयारी गरिरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो- विज्ञान प्रविधिको युगलाई आत्मसात गर्दै नेपाल सरकारले छिट्टै नै विद्युतीय सवारी सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । पहिलो चरणमा सबै मन्त्रालयमा विद्युतीय गाडीहरु प्रयोग गर्ने तयारी छ भने सबै कार्यालयका कर्मचारीलाई साइकल चढ्न निर्देश गरिँदैछ । त्यसका लागि चीनसँग डिल गर्ने योजना छ ।’

उहाँले सार्वजनिक यातायातमा पनि विद्युतीय सवारी नै सञ्चालन गर्न विज्ञान तथा वातावरण मन्त्रालयले अध्ययन गरिरहेको बताउनुभयो । ‘विगतमा चीन सरकारको सहयोग भक्तपुरदेखि त्रिपुरेश्वरसम्म ट्रली बस सञ्चालन थियो । त्यो सञ्चालनमा ल्याउन अब सम्भव छैन् किनकि सडकहरु गाभिएका छन् । पोलहरु पनि सारिएका छन् । अब नयाँ रुटबाट सञ्चालन गर्न अध्ययन गरिरहेका छौं ।’ सचिव पोखरेलले बताउनुभयो ।

Chinees-bus-650x353

नेपालीहरु समस्या पर्दा मात्रै विकल्प खोज्ने र अरु बेला नेतृत्व र सरकारले वास्ता नगर्ने परिपाटीका कारण अहिले समस्या आएको उहाँको भनाई थियो । भारतले नाकाबन्दी गरिरहँदा आफू पैदलै मन्त्रालय पुग्ने गरेको बताउँदै सचिव पोखरेलले विज्ञान मन्त्रालयका अधिकांश कर्मचारीले साइकल र विद्युतीय सवारी मात्रै प्रयोग गर्ने गरेको सुनाए । ‘सबै कर्मचारीहरुले साइकल चढ्ने हो भने मन्त्रीज्यूहरुले विद्युतीय गाडीमात्रै चढ्ने भने नेपाल पेट्रोलियम पदार्थमा पुरै परनिर्भर हुने अवस्था आउँदैन् ।’ उहाँको भनाई छ ।

अबको केही वर्षभित्रै नेपालमा विद्युतीय सवारीको विकास भएरै छाड्ने दृढता व्यक्त गर्दै सचिव पोखरेलले त्यसका लागि सरकारले कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । यसअघि २०४५ सालमा चीन सरकारले काठमाडौंको त्रिपुरेश्वरदेखि भक्तपुरसम्म विद्युतीय ट्रली बस सेवा सञ्चालन गरिदिएको थियो ।