समाचार

१३ दिन हुँदासमेत नचेत्ने सरकार : भारतसँग डर कायमै, चीनसँग पहल पुगेन, बंगलादेशले तेल नदिने

अनलाइन नेपालगंज

बुधबार, २० आश्विन २०७२

काठमाडौं– भारतले नाकाबन्दी गरेको १३ दिन हुँदासमेत सरकारले त्यसको विकल्प खोजेको छैन्। पेट्रोलियम पदार्थको हाहाकार कायमै रहेपनि सरकारीस्तरबाट विकल्पका विषयमा आधिकारिक रुपमा केही कदम चालिएको छैन्।

भारतले नाकाबन्दी गरेको लामो समय भइसक्दा पनि सरकारले त्यसको विकल्पबारे ठोस पहल लिएको छैन। मन्त्रिपरिषद स्रोतका अनुसार प्रधानमन्त्री र प्रमुख तीन दलका नेताहरुले अहिले भारत आफूहरुको कामबाट असन्तुष्ट रहेको र यस्तो बेला चीनबाट इन्धन ल्याउने कुराले भातर थप चिढिन सक्ने भन्दै तत्काल चीनसँग औपचारिक रुपमा इन्धन ल्याउन पहल गर्न आँट गरेका छैनन्।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सोमबार मन्त्रालयले इन्धन उपलब्ध गराउन चीनलाई पत्रचार गरेको छ। चिनियाँ दूतावासमार्फत चीन सरकारलाई पठाएको पत्रको जवाफ मंगलबार साँझसम्म आइपुग्ने मन्त्रालयले जनाएको छ।

‘कति समयलाई पुग्ने इन्धन चाहिने हो स्पष्ट खाका ल्याउन चिनियाँ अधिकारीले आग्रह गरेका छन,’ वाणिज्य तथा आपूर्ति राज्य मन्त्री गिरिबहादुर केसीले नागरिकन्युजसँग भने, ‘चार महिना, एक वर्ष वा चार वर्षलाई पुग्ने इन्धन चाहिएको हो? स्पष्ट खाका दिनुस् भनेका छन्।’ तर मन्त्रालयले भने कुनै स्पष्ट खाकाबीना चीन सरकारलाई इन्धन उपलब्ध गराउन पत्राचार गरेको छ।

राज्य मन्त्री केसीका अनुसार हवाई इन्धन ल्याउन सरकारले बंगलादेशसँग कुरा अगाडि बढाएको थियो। तर बंगलादेश सरकारले भारतले हात हालेको ठाउँमा आफू पस्न नसक्ने जवाफ दिएको छ। बंगलादेश नेपालका कारण भारतसँगको सम्बन्ध बिग्रने डरका कारण यो मामिलामा हात हाल्न इच्छुक नदेखिएको उनले बताए। ‘तत्काल बंगलादेशबाट हवाई इन्धन ल्याउने प्रयास पनि सफल हुन सकेन,’ उनले भने, ‘हवाई इन्धनको लागि सिंगापुरबाट ल्याउने विषयमा कुराकानी भइरहेको छ।’

सिंगापुरबाट कार्गो गरेर कोलकाता बन्दरगाह हुँदै इन्धन ल्याउने विषयमा छलफल भएपनि भारतले पारवहन सुविधामा अबरोध सृजना गर्यो भने के गर्ने? भन्ने विषयमा सरकार अलमलिएको स्रोतले जनायो। स्रोतका अनुसार सिंगापुरबाट हवाई इन्धन ल्याउने विषयमा गृहमन्त्री बामदेव गौतमले पर्यटन तथा नागरिक उड्यान मन्त्री कृपाशुर शेर्पामार्फत कुरा अगाडि बढाएका छन्। मन्त्री शेर्पाका साथीको सिंगापुरमा कार्गो व्यावसाय रहेको र उनीहरुमार्फत नै हवाई इन्धन ल्याउन गृहमन्त्रीले पहल थालेपनि त्यसलाई औपचारिक रुप दिइएको छैन।

Source: nagariknews