राजनिति

नेपालगन्जको नाकाबन्दीले उग्र रुप लिने मधेशी मोर्चाको चेतवानी

अनलाइन नेपालगंज

शुक्रबार, १५ आश्विन २०७२

नेपालगंजमा नाकाबन्दीले उग्र रुप लिन सक्ने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले चेतावनी दिएको छ । बिगत ५ दिन देखि शान्तिपुर्ण रुपमा नाका तथा राजमार्ग केन्द्रित आन्दोलन गरिरहँदा पनि प्रहरीले आन्दोलन बिथोल्नुका साथै दमन गरिरहेकाले अब आन्दोलन उग्र बनाउने मोर्चाले चेतावनी दिएको हो । मोर्चाका प्रवक्ता पशुपति दयाल मिश्राले मधेशका जायज माग संबोधन गराउने लामो समयदेखि मधेशी मोर्चा आन्दोलनरत रहेको भन्दै तत्काल मधेशका सम्पुर्ण माँग संबोधन भएन भने आफूहरु उग्र आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

nepalgnj-pradarshankari

उनले राज्यले विगतमा मधेशी मोर्चासँग गरेका सहमति विपरीत संविधान आएकाले आन्दोलन गर्नुपरेको बताए ।

मोर्चाका सहसंयोजक राम कुमार दिक्षितले नेपालमा सबै राजनीतिक परिवर्तन भारतकै सहयोगमा भएको भन्दै अहिले भारतलाई गाली गर्न नहुने बताए । उनले २०४६ सालको परिवर्तन होस वा अन्य, भारतले सँधै सहयोग गरेको र अहिले पनि सहयोग मात्र गरिरहेको उनको भनाई थियो । दिक्षितले मधेशी दलहरुले गरेको नाकाबन्दीलाई भारतले गरेको भनेर हल्ला फिँजाउने र भ्रम छर्ने काम भइरहेको बताए । उनले आफ्ना मागहरु पुरा नभएसम्म नाका तथा राजमार्ग केन्द्रित आन्दोलन जारी रहने बताएका छन् । मधेशी मोर्चाको आन्दोलनलाई बिफल गर्न बाँके प्रहरीले सीमामा ब्यापक प्रहरी परिचालन गरेको र बल प्रयोग गरेको मोर्चाको आरोप छ भने प्रहरीले शान्ति सुरक्षाका लागि प्रहरी परिचालन गर्नुपरेको बताएको छ ।