समाचार

विश्वकै होचा नेपाली चन्द्र बहादुर डाँगीको निधन

अनलाइन नेपालगंज

शनिबार, १९ भाद्र २०७२

काठमाडौँ, १९ भदौ, विश्वकै होचा व्यक्तिका रुपमा गिनिज बुक अफ दि वल्र्ड रेकर्डसमा नाम लेखाउन सफल नेपालका चन्द्रबहादुर डाँगीको निधन भएको छ । पचहत्तर वर्षीय डाँगीको निमोनियाका कारण अमेरिकन समवाको पागोपागोस्थित ल्यान्डन बी जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा नेपाली समयअनुसार शुक्रावार मध्याह्न १२ बजेतिर निधन भएको बताइएको छ । उहाँ मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन पाँच महिनाअघि त्यसतर्फ जानुभएको थियो ।

Chandra B Dangi

उहाँका सहयोगी थानेश्वर गुरागाईँका अनुसार डाँगीका साथमा रहेका उहाँका भतिजा दोलखले उहाँका हजुरबुवाको उपचारका क्रममा निधन भएको पुष्टि गर्नुभएको छ । डाँगीको जन्म विसं १९९६ मङ्सिर १५ गते सल्यानको रामपुरस्थित कालीमाटीमा भएको थियो । हाल उहाँको स्थायी बसोबास दाङको पुरनधारास्थित रिमखोलीमा छ ।

चौध किलो तौल भएका डाँगीको उचाइ २१ दशमलव ५ इन्च रहेको थियो । उहाँ अविवाहित हुनुहुन्थ्यो । डाँगीले विसं २०६८ फागुन १४ गते विश्वकै होचा व्यक्तिको प्रमाणपत्र प्राप्त गर्नुभएको थियो ।रासस