मधेशी नेताको प्रयास
अनलाइन नेपालगंज
बुधबार, १६ भाद्र २०७२
प्रमुख दलका शीर्ष नेताहरु मधेशमा जारी आन्दोलनका विषयमा गम्भीर नबनेको भन्दै संघीय समाजवादी फोरमलगायत तराईमा संघर्षरत पार्टीहरुले कुटनीतिक पहल गर्ने भएका छन् ।
मधेशमा जारी आन्दोलन हिंस्रक बन्दै गएको, प्रहरी दमन बढेको तर माग सुनुवाई तर्फ कसैको ध्यान नगएको भन्दै मधेशी दलहरुले कुटनीतिक निकायमार्फत दलहरुलाई दबाब दिने तयारीमा लागेका हुन् । कुटनीतिक पहलका लागि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव हिजो काठमाडौं आउनु भएको छ । उहाँलगायतका नेताहरुले आज काठमाडौंस्थित विभिन्न कुटनीतिक निकायलाई बोलाएर दिउँसो २ बजे पत्रकार सम्मेलनको तयारी गरेका छन् ।
पत्रकार सम्मेलनमा नेपालका राजनीतिक दलले मधेशलाई सम्बोधन गर्न नसकेको, आफुहरुका मागलाई वेवास्ता गरि अघि बढ्न खोजेको लगायतका गुनासो पोख्ने सम्भावना रहेको बताईएको छ ।
मधेशमा चर्किरहेको आन्दोलनलाई रोकी वार्तामा आउन सरकारले पटक पटक आह्वान गर्दा पनि मधेशी दलहरुले भने चासो देखाएका छैनन् । उनीहरुले वार्ताका लागि संविधान निर्माणको काम स्थगित गर्नु पर्ने पहिलो सर्त तेस्र्याएका छन् ।