राजनिति

नाता कायम नहुँदा आमा र बच्चा सहाराविहीन

अनलाइन नेपालगंज

आईतवार, १३ भाद्र २०७२

दैलेख, १३ भदौ । मालिका गाविस– २ कुमालवाडाकी २० वर्षीया जुना विक र उनका तीन वर्षीय छोरा आदेश अहिले बेसहारा बनेका छन् । मालिका गाविस– ८ लेखलगाउँका २४ वर्षीया लोकेन्द्र रावतले नाता कायम गर्न नमानेपछि जुना र उनका छोरा बेसहारा भएका हुन् । सोही गाविसमा रहेको दिदीको घरमा गएका बेलामा लोकेन्द्रसँग शारीरिक सम्पर्क हुँदा गर्भ रहेको जुनाले बताएकी छिन् ।
“गर्भ रहेपछि घर भित्र्याउनुपर्ने डरले लोकेन्द्र भारततिर गयो, जुनाले भनिन्– छोरा जन्मिएर अहिले तीन वर्षको पुगिसक्यो, तर वास्ता नै नगरेपछि बेसहारा भयौँ ।” लोकेन्द्रले नाता कायम गर्न नमानेका कारण अहिले धेरै समस्या झेल्नुपरेको जुनाको दुःखेसो छ ।
हाल माइती घरमा बस्दै आएकी उनले छोरालाई विद्यालय भर्ना गर्नसमेत नपाएको बताइन् गाउँकै विद्यालयमा भर्ना गर्नसमेत सरहरूले मानेनन् उनले भनिन् जन्म दर्ता नभएकाले फिर्ता पठाइदिए उनले नाता कायम नभएकाले छोराको जात के राख्ने भन्ने अन्योलमा परेको पीडा बताइन् ।
आफू र छोरा बेसहारा भएको भन्दै कानुनी उपचार खोज्दै जुना शुक्रबार दैलेख सदरमुकाम आइपुगेकी छिन् । छोरा र आफूलाई स्वीकार्नुपर्ने डरले भागी हिँडेका लोकेन्द्र आफन्तको मृत्यु भएका कारण तीन वर्षपछि घर आएको थाहा पाएपछि गत असार १० गते तल्लो डुगेश्वर प्रहरी चौकीमा खबर गरिन् जुनाले ।
प्रहरीले असार १४ गते नै लोकेन्द्रलाई पक्राउ गरेपछि असार १५ गते प्रहरी चौकीमा नाता कायम गर्ने, विवाह दर्ता र जन्मदर्ता गर्न भनी लिखित सहमति भएको थियो । प्रहरी चौकीमा भएको सहमतिपछि गाविस कार्यालयमा तीन पटकसम्म पुगेकी जुना अन्ततः रित्तो हात फर्कनुपरेको थियो र लोकेन्द्रले पूर्व सहमतिअनुुसार जुनाको माग पूरा नगरी फेरि भागेर भारततिर लागेपछि उनी कानुनी उपचार खोज्दै सदरमुकाम आउन बाध्य भएकी छिन् ।
सामाजिक कानुनी सहायता केन्द्र दैलेखका संयोजक अधिवक्ता मातृकाप्रसाद खनालले जुनाले खोजेको कानुनी उपचारका लागि केन्द्रले सक्दो सहयोग गर्ने बताउनुभएको छ । अहिले जुना केन्द्रको सम्पर्कमा आएकाले अब उनलाई चाहिने सम्पूर्ण कानुनी उपचारका लागि हामी तयार छौँ अधिवक्ता खनालले भन्नुभयो । रासस