समाचार

कर्फ्यु हटेपछि जुम्ला शान्त, आन्दोलन स्थगित

अनलाइन नेपालगंज

बुधबार, २ भाद्र २०७२

२ भदौ, जुम्ला । कर्णालीलाई स्वायत्त प्रदेश बनाउन माग गर्दै भएको प्रदर्शन हिंसात्मक भएपछि जुम्लामा लगाइएको कर्फ्यु तीन दिनपछि हटाइएको छ ।

jumlaनागपञ्चमीका दिन श्रद्धालुहरु जुम्लाबाट पूजा सामाग्री लिएर बाजुराको बढीमालिका जाने परम्परा रहेकाले त्यसलाई मध्यनजर गर्दै कर्फ्यू हटाइएको हो ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले मंगलबार राति ८ बजेदेखि कर्फ्यू हटाएको थियो । राजनीतिक दलहरुले पनि आन्दोलनलाई एक दिनका लागि स्थगित गरेका छन् । बुधबार जुम्लाको जनजीवन शान्त छ ।

यस्तो छ बाजुरा जानुको कारण

जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा गंगाप्रसाद पाण्डे नेतृत्वको टोली बडिमालिका प्रस्थान गर्दैछ । सरकारी टोलीसँगै श्रद्धालुहरु त्रयोदशी तिथिको दिन साँझ बाजुराको बडिमालिका पुग्दछन् । जुम्लाको टोली जस्तै बर्षेनी डोटीको टोली पनि बडिमालिका पुग्ने र दुवै टोलीले चतुर्थदशीको दिन सँगै पूजाआजा गर्ने प्रचलन छ ।

टोली १७ दिनपछि षष्ठी तिथिको दिन जुम्ला फर्किन्छ । सो टोलीले चाँदीको काइँयो, मुरली लगायतका सामाग्री बडिमालिकालाई चढाउने र सोही सामाग्री पुजारीले फिर्ता ल्याई जुम्ला चन्दननाथमा बुझाउनुपर्ने परम्परागत रीति रहेको कर्णालीको सँस्कृतिबारे जानकार रमानन्द आचार्यले बताए ।

आचार्यका अनुसार खस मल्लकालमा नागराजले डोटी राज्य छुट्याएपछि जुम्ला र डोटीबीच त्यति राम्रो सम्बन्ध भएन । त्यसपछि विक्रम संवत् १८३४ मा कल्याल राज्य स्थापना भई डोटी र जुम्लाबीचको डाह मेटाउन तथा स्थायीमैत्री सम्बन्ध कायम गर्न बर्षेनी बडिमालिका जाने चलन कायम रहेको उनको भनाइ छ ।

Source: onlinekhabar.com