लेख रचना

‘म आमा हुँ चिथोर,चिमोट,लुछ’

अनलाइन नेपालगंज

शुक्रबार, २९ श्रावण २०७२

हो

मलाई बाँड्यौ

केहि छैन,

मेरो अंग अंग टुक्रयाउ

मेरो सर्वाङ्ग भाग लगाउ

तर बिन्ति …

मेरो मन,मुटु नटुक्र्याउ

म,उही आमा बनेर

मेरा सन्ततीहरुलाई समेट्न चाहन्छु

म उही कोखमा मेरा सन्तानहरुलाई

स्याहार्न चाहन्छु।

आखिर म आमा न हुँ

मेरो बक्षस्थलमा सबै सन्तानका

ओंठहरुको घस्रन छ

मेरो पाठेघरमा सबै सन्तानको

बासको अस्तित्व छ

त्यसैले…,

म कहाँ यी सन्तानहरुलाई

लुच्छाचुँडी गरेको देख्न सक्षम छु?

त्यस्तै..,

म कसरी मेरै आँखाका नानीहरू

बिभेद्तामा अल्मलिएको सहन

सामर्थ्यवान छु?

तरपनि ठिकै छ

म आमा हुँ,

चिथोर, चिमोट, लुछ

तर बिन्ती मेरो मन,मुटु

टुक्रा नपार,

मेरो न्यानो काखमा

अंशबण्डाको रेखांकन नकोर

म आमा हुँ

मलाई विभाजनको मानचित्रमा

पलायन गर्न नखोज

बस् म’त चाहन्छु

म आमा एक

मेरा सन्तती अनेक!