विपश्यना केन्द्रबाट सुललित मनसित फर्किँदै गर्दा अचानक उनको एकसुरे धुन मेरो कानमा गुञ्जियो। बृद्ध, कोमल बोली, रोदन मिसिएको झैँ लाग्ने। सवारी रोकेर उनीतिर पुग्दासम्म त्यसै थाहा भो कि उनी देख्न सक्तैनन्। फुटपाथको पनि एकदम कुनामा टाँस्सिएजस्तो, एक इच्छाशक्तिसितको बिम्ब जस्तो, पचास पचपन्नको उमेरको उनको विद्रूप अस्तित्वले आफैं केही बोले जस्तो। खुलेका आँखाबाट सुस्त बगिरहेका सुषुप्त आँसु मैले ठम्याएँ। अलिअलि सिक्का र पैसाको एक टालो अगाडी बिछ्याएको। अनि साथमा देब्रे पाखो उप्केको एक पाखे मादल। उनको जे छ भन्नु त्यति नै हो। नजानिँदो फिसफिस पानीमा आँसुसित आनन्दातिरेकमा डुलेझैं शालीन चेहरासित मस्त देखिन्थे ‘कहाँ गयौ ए मनकी मनचरी……’ गाउँदै।
‘दाइ, नमस्ते’ भनिसक्दा पनि ‘नमस्ते बाबु’ भनेर फेरि मादलमै लिन हुनथाले। म चाहीँ झन् झन् आकर्षित हुँदै सोध्न थालेँ- ‘दाइ, पानी पर्या छ। फुटेको मादल रै’छ। तैपनि तपाई मस्त हुनुहुन्छ।’
‘भएको पैसा मन खा’को कुरामा खर्च। थोत्रै कपडा, हिलै खुट्टासित भएनि फोटो खिच। पेट दुखुन्जेलजस्तो हाँस। नजाने नि आफ्नै सुरमा मस्त नाच। यो चोलाको मजा त्यै हो। मर्दा के नुक्सान छ र बाबु? जिम्दो हुँदै मरेझैँ बाँचे पो नुक्सान।’ गुरुहरुले झैँ अलिकति मुस्काउँदै यति भनेर उनी फेरि एकताले मादल बजाउन थाले।
म पलकमै उनको फ्यान भएँ कि कुन्नि! भर्खर विपश्यनाबाट छुटेको म यो अर्को थरी जीवनजादुले मुग्ध भएँ। मलाई पुस्तकका दार्शनिकभन्दा वास्तविक जीवनका जीवनद्रष्टाहरु बढी गहकिला लाग्ने भएरै होला उनको कथा सुन्न लालायित हुदै सोधेँ- ‘कहाँ बस्नुहुन्छ दाइ?’ मेरो प्रश्न शायद धेरै नै भारी भएछ उनले मादल बजाउन छोडे। टालो गुट्मुट्याउन थाले।
मैले झटपट भनिहालेँ, ‘दाइ माफी दिनुहोला, मैले अनावश्यक हजुरलाई दिक्क बनाएँ। म जान्छु। तर मलाई तपाइको जीवन जिउने शैली मन पर्यो। मेरो मनदेखी नमस्कार गर्छु।’ मैले माफी मागुन्जेलमा उनी त गहभरी आँसु बनाएर टोलाइसकेछन्।
त्यसपछि उनी बोल्दै गए, म द्रवित हुदै सुन्दै गएँ।
“आमाको अनुहार सम्झिन्नँ। सानैमा बित्नुभएछ। बाले अति प्यारो गरी लालु भन्नुन्थ्यो। कहीँ मेलापात जाँदा काँधमा हालेर लाने। फर्कदा पिपलगेडी या क्यै न क्यै त पक्कै किन्दिने। एक दिन बाले हात्तीछाप गजरा चप्पल किन्दिनुभो’। प्याटप्याट पडकाउँदै कतिका घरछिमेकां देखाउन ग’थें म। भात मुछ्दै मलाई ख्वाउँदै उही थालमा पछि खानुन्थ्यो। घाँसपराल गर्दा पिठ्युँमा राखेर के के सुनाउनुन्थ्यो। खुट्टा भाँचेर आसनमा घोप्टी परेर बाले पाठ गर्न लाउँदा बाको पिठ्युँमा चड्दै मच्चिन्थेँ म। बा रिसाउनको साटो खुसीले मक्ख हुनुन्थ्यो। काखमा लिई हेरिरनुन्थ्यो। घरमा सारै दुख भाकाले होला बाले तीनसम्म मात्रै पढ़ाउनुभो। तेस्पछी म नि बासितै मेला हिन्न थालें। अलि चांडै बिहे भो मेरो। छरछिमेक केटाकेटीहरु मलाई लाल्दाई भन्थे।” एकछिन अलिबेर रोकिए उनी यति भनेर।
“बिहेपछि तीनजानै मेला हिन्थेम्। अब त अलि सुखका दिन आउँछन् कि भन्नुभाथ्यो बाले। तेती भनेका दशेक दिनमा लगालग दुई हप्ता थलिएर बा खस्नुभो।” घोप्टो हेरेका लाल्दाइका आँखाबाट ठुल्ठुला आँसु झरे फुत्पाथको बालुवामा। रसाएका आँखासित म सुन्दै गएँ।
“बाले अकस्मात छोड्दा म रित्तिएँ। बलिन्धरा आँसु भो। टुहुरो। बुडिले झ्वाम्म अंगालेर भनिथी- ‘चिन्ता नगर्नु, बाआमा नभए नि हाम्ले गरि खाम्ला नि। म छु नि हजुरको।’ तेसो भन्दा धेरै सान्तना भो।
सदरमुकाममा ज्यालामा काम गर्न गएम्। जिन्दगीमा एउटा एउटाको अनुहार हेरेर बाच्नी त रै’छ नि भन्दै आमा बा जम्मै तेसैमा देख्थें। धेरै माया गर्थें। भगवानले धेरै परीक्षा लिए बाबु। छोरा छोरी भएनन्। कताकता रिन खोजेर कति थाम धाएर उपचार गराएँ बाबु। दस बर्षमा एउटी छोरी जन्मी। मेरो हर्खको सीमा भएन। रिनका साउले दिनकै टोकस्दा नि कोठाँ पुगेर छोरीलाई देखे’सी सब दुख भुल्थें। ‘गुडिया’ नाम राख्दें मैले। आमाले चाँही ‘राधा’ भन्नुस् न भन्थी। मलाई गुडियै भन्दा हर्ख हुनी।” फिस्स मुस्काउँदै लाल्दाइले आँसु पुछे।
भन्दै गए, “तीन मैनामा मुसुक्क हाँसी गुडिया। सात मैनातिर टुक्रुक्क बस्ने भै। आमा देख्न नपा’को मैले, गुडियालाई आमा बा दुइटैको माया दिन पाथें। मेलापात, साउको टोकसो मलाई क्यै लागथेन। बिस्तारो मेरा आँखा टनटनाउन थाले। रिनां डुबेको म। नटेरेर बसें पैला। अलि पछी त ठप्पै भो। केइ देखिनँ। जचाउन जाँदा अब ढिला भो। आखाको पर्दा गयो भन्यो बाबु। तेस दिनदेखि यो लोक मलाई अँधेरो छ। बुडीको काम बड्यो। मेरो ज्याला बन्द भो। गुडियासंगै मेरो ‘नि स्यार गर्नपरो बुडीले। हजुरको बा नि मै, सहारा नि मै, बुडी नि मै भन्थी बाबु। एकदिन थाकिछ मसित; छोडेर गई गुडियालाई लिएर अर्कैसित। आँखा नभा’को मेरो जीवन पुरै सुन्य भो’ बाबु। तो दिनदेखि सुरु भो बाबु मेरो ऐँठन चोला। एक दिन गुडियालाई भेटुँला भन्दै घुम्दै हिन्छु ठामठाम।” घुँक्कघुँक्क रुन थाले लाल्दाइ। म नि भक्कानिएँ।
म कहाँ उभिएको छु मलाई थाहा भएन। म सब कुरा भएर नि हास्न नसक्ने म। केही नभएर नि स्वच्छन्द एक पाखे मादल बजाएर मुस्काउने लाल्दाइ।
भारी गलासित उनी बोल्दै गए, “आमा बा दुइटैको माया दिन्छु गुडियालाई भनेको, पाइनँ बाबु। भगवानलाई रुचेन मेरो मनकामना।”
एकछिन टोलाएर फेरि बोले लाल्दाइ, “नौ सालकी हुन्थी बाबु गुडिया ऐले। तेल्लाई नि मैले काँधमा हालेर हिन्थेँहोला। आँखा नदेखेनि मेरा पिठ्युँमा चढाएर हट-घोडा खेलाउथेँ। मैले जानेको ककहरा पढ़ाउँथे बोल्दै। अनि एक जोर जुता किन्दिन्थेँ। मेरी गुडिया नि टोलछिमेक जुत्ता देखाउन जान्थी। देख्न नपाए नि उसकै अवाज सुन्दै मक्ख हुन्थें। एकचोटी भेट्न पाए काखमा राख्थेँ। छातीमा टाँस्थें। एक जोर जुत्ता किन्थेँ। म हुम् गुडिया तेरो बाबा भन्थेँ। मेरो बाको कथा सुनाउथेँ।”
बोल्दैबोल्दै अलि उत्साहित भएझैं गरी उनले भने, “ बाबु मैले जुता किन्न त जम्मा गर्छु यो पैसा। भेट्नपाम्ला नि एक दिन गुडियालाई। हैन बाबु?”
म अवाक् थिएँ। कुन उत्तर सहि हो थाहा भएन मलाई। म भित्रभित्र निचोरिएको थिएँ हुण्डरीले। यी एक दृष्टिबिहीन। न कुनै पैसा न कुनै फोटो न कुनै ठेगान न कुनै प्रबन्ध। फेरि पनि आफ्नी मनकी मनचरी आफ्नी छोरीलाई कहीं भेट्ने आशा गर्छन्। पितृवात्सल्यको यो बेजोड नमुना। उनको जीवन लक्ष्य नै उही हो। आफ्नो मुटुको टुक्रालाई एकपटक काखमा लिने। एकजोर जुत्ता किन्दिने। अनि एक चोटी भन्ने- ‘म तिम्रो बाबा हो!’
पर्समा भएको लगभग सबै पैसा दिँदै आशामा बाँचेका लाल्दाइलाई ढाडस दिँदै भनेँछु- ‘भेटिन्छिन् दाइ, भेटिन्छिन्। पक्का भेटिन्छिन् गुडिया।’
उनले पैसातिर त्यति ध्यान दिएनन्- कति होला भनेर। बरु मेरो हातमा शीर राखेर तप्प आँसु झारे। भने- “देख्नेहरुले कम देख्दा रैछन् बाबु। मेरा आँखा छँदा कति जंगल देखें हुँला, हिमाल देखेँ हुँला, तर क्यै लाउन्नथ्यो। ऐले देख्न पाए कसरि हेर्दो हूँ। ऐले त म हावाको सप्को, पानीका कण, मान्छेको गन्ध सब पर्गेल्छु। यहाँ मेला घुम्न आउनेलाई सोध्छु- ‘के छ याँ?’ उनीहरु भन्छन् ‘खास केही छैन।’ म अब बुझ्छु के छ त्यहाँ।”
कताकता हेलेन केलरको शब्दहरु याद आयो मलाई लाल्दाइका शब्दमा।
उनलाई त्यहाँ नजिकैको कुनामा रहेको सुत्ने ठाउँमा पुर्याएर म फर्किँए।
अलि दिनमा फेरि भेट्न गएँ लाल्दाइलाई त्यही फुटपाथपारीको कुनामा। उनी भेटिएनन्। एक दृष्टिबिहीन बटुवा कैले गन्तव्यमा पुग्लान् भन्दै म फर्कें। केही दिनपछि राजमार्गको बाटो फर्कँदै गर्दा उही पोकोसित उनैलाई देखेँ उही एकपाखे मादल, अनि उही मनचरीको गीत। बाइक रोकेँ र आडैमा गएँ।
“दाइ, मलाई चिन्नुहुन्छ ?” मैले यति भन्दा मुस्कुराएर “आँखा नभाप’सी बोलीले त रैछ नि बाबु चिन्ने। यी हेर्नुस् त मैले गुडियालाई येत्रो जुता किनें!” भन्दै एक ठीकठाक देखिने केटीको स्यान्डल देखाए। म ट्वाल्ल परेँछु। लाल्दाइ फेरी बोले- “मिल्ला बाबु उसलाई यो। ऊ दस की हुन्जेल भेटुम्ला कि? अब यौटा ‘भन्दिएर चित्र कोर्ने मान्छे’ हुन्छन् रे तिनलाई भेट्न मन छ। बुडीको चित्र बनाएर हिमान्चल जान्छु। पस्सिमका मान्छे धेरै हिमान्चल जान्छन् बाबु। बुडीसित गुडिया भेटिएली। अनि मेरो मादल दुइपाखे हुन्छ। म गुडियाको बाउ। मेरो गीत पुरा हुन्छ। मेरो जीवन धन्य। मलाई अनि हुन्नथ्यो बाबु ऐँठन।”
लाल्दाइको आँखामा छचल्किएको खुशीले मन ढक्क भरियो। उनीसित बिदा भएर फर्किएको थुप्रो दिन भो। मानसपटलमा एकपाखे मादलको तालमा उनका शब्द गुन्जिरहेका हुन्छन् सधैं- ‘पेट दुखुन्जेलजस्तो हाँस। नजाने नि आफ्नै सुरमा मस्त नाच।………..’