बिचित्र संसार

पानीको पोखरीमा किन हालियो १० करोड प्लास्टिकका बल ?

अनलाइन नेपालगंज

बिहीबार, २८ श्रावण २०७२

अमेरिकाको क्यालिफोर्नियास्थित स्यालमारमा रहेको लस एन्जल्स जलाशय अहिले कालीचूर देखिन्छ । टाढाबाट हेर्दा उक्त जलासय यति कालो तथा फोहोर देखिन्छ की त्यो कालो पानी मानिसहरुले कसरी पिएका होलान् भन्ने लाग्छ । तर जब नजिकै गएर हेरिन्छ, तब कुरो बेग्लै छ । टाढाबाट देखिने त्यो कालो फोहोर पानीको रङ होइन, पानीमाथि तैरिरहेका करोडौँ कालो रङका प्लास्टिकका बलहरु हुन् ।

क्यालिफोर्नियामा अहिले परेको किर्तिमानी खडेरी सँगै खानेपानीको जलाशयको पानी चर्को घाममा बाफ बनेर सुक्न थालेपछि पानीलाई कालो बलले छोप्ने यस्तो अनौठो काइदा अपनाइएको हो ।

७५ एक्कडमा फैलिएको उक्त जलासयमा हालै ९ करोड ६० लाखवटा कालो रङका प्लास्टिकका बल छाडिएको थियो । काला बलको समुद्रले खानेपानीको पोखरी ढाकेपछि त्यसको दृश्य साँच्चीकै दर्शनीय बनेको छ ।

जलाशयको ३० करोड ग्यालोन पानीलाई बाष्पिकरण हुनबाट रोक्नका लागि खानेपानीलाई धुलो, वषर्ात्को फोहर पानी, रसायन तथा जनावरहरुबाट समेत बचाउन यसरी पोखरीमा प्लास्टिकका बल हालिएको बताइएको छ ।

यी बलहरु पानीमा तैरिएर सूर्यको किरण रोक्ने काम गर्छन् । साथै यी प्लास्टिकका बलहरुले हानिकारक रसायन ब्रोमेटको निर्माण गर्ने रासायनिक प्रतिक्रिया पनि रोक्दछन् ।

खडेरीमा समेत खानेपानीको गुणस्तर कायम राख्न तथा पानीको नोक्सानीलाई रोक्नका लागि यसरी जलाशयलाई प्लास्टिक बलले छोप्ने आइडिया लस एन्जल्सको जल तथा उर्जा विभागका हाल सेवानिवृत्त जिवविज्ञ डाक्टर ब्रायन ह्वाइटको हो ।

यी हरेक प्लास्टिकका बलको साइज झण्डै स्याउको जत्रै छ । एउटा कालो बलको मूल्य ३६ सेन्ट परेको छ ।

किन कालो रङका बल प्रयोग गरियो त ? यसको कारण छ । किनकी कालो रङले मात्र परावैजनी किरणलाई परावर्तन गराइदिन सक्छ । यो हानिकारक किरणले पानीमा रासायनिक प्रतिक्रिया गरेर हानिकारक ब्रोमेटको उत्पादन गर्दछ ।