लेख रचना

तीन जनालाई देवकोटा, सम र लेखनाथ पुरस्कार

अनलाइन नेपालगंज

बिहीबार, २८ श्रावण २०७२

त्रिमूर्ति निकेतनले केदार शर्मा ढकाल, शकुन्तला शर्मा र मनिराज जोशीलाई देवकोटा,  सम र लेखनाथ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको बैठकले यो निर्णय गरेको हो । पुरस्कारका राशि जनही पचास हजार रूपियाँ छ ।

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि काव्यसाधनामा छ दशक अघिदेखि निरन्तर समर्पित रही नेपाली कविताको विकासमा विशिष्ट योगदान पुर्‍याएवापत स्याङ्जाका केदार शर्मा ढकाललाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने भएको छ ।

त्यसैगरी नाट्यक्षेत्रमा समर्पित भई नेपालमा नाटकको महिमा र गरिमालाई उत्कृष्ठताको शिखरमा पुर्‍याउन उद्धत काठमाडौंकी शकुन्तला शर्मालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरिने भएको छ ।

नेपाली भाषासाहित्यमा समर्पित भई शास्त्रीय छन्दको कविता रचनाका साथै सो माध्यमबाट छन्दकाव्य प्रचार अभियानमा समेत विशिष्ट योगदान पुर्‍याएबापत कैलालीका मनिराज जोशीलाई पनि यसै वर्ष ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गरिने भएको छ ।